RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/६ गते
६९२ पटक

संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिले तत्काल दश हजार थान भेन्टिलेटर र सोहीअनुसार आइसियूको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । सरकारले व्यवस्था गरेका ती भेन्टिलेटर र आइसियू सातै प्रदेशमा कोरोना संक्रमित सङ्ख्याको आधारमा सन्तुलित एवं समानुपातिक ढंगले वितरण गर्न पनि निर्देशन दिएको छ ।

साथै, भेन्टिलेटर र आइसियूको सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति आवश्यकताका आधारमा नियुक्त गर्न पनि समितिले निर्देशन दिएको छ । भर्चुअल माध्यमबाट शुक्रबार बसेको समितिको बैठकले कोरोना डेडिकेटेड अस्पतालको सङ्ख्या तत्काल वृद्धि गर्न पनि जोड दिएको छ ।

यस्तै, अग्रपङ्तिमा खटिएका चिकित्सक, सुरक्षाकर्मीहरूलाई मनोबल उच्च राख्नेगरी सुविधा उपलब्ध गराउन पनि सरकारलाई निर्देशन दिएको छ । समितिले भनेको छ, ‘कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि अग्रपङ्तिमा खटिनु भएका चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायतको सुरक्षाको सुनिश्चितता गरी उनीहरूको मनोबल बढाउन बिमा, प्रोत्साहन, उपचारलगायतको प्रभावकारी व्यवस्था मिलाउने ।’

कोभिड– १९ को उपचारका लागि निजी अस्पताल र मेडिकल कलेजलाई समेत प्रयोग गर्नका लागि राज्यको तर्फबाट आवश्यक साधनस्रोत सहयोग गरी आमनागरिकको उपचारमा सरल र सहज पहुँच हुने अवस्था सुनिश्चित गर्न पनि समितिको निर्देशन छ ।

प्रतिकृया दिनुहोस्