RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१८ गते
८३७ पटक

नेपाल कम्युनिष्ट पार्टी नेकपाको डडेलधुरास्थित आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीमाथि कुटपिट भएको छ।

अपहरणपछि अज्ञात समुहले उनको खुट्टा भाँचिदिएका छन्। टाउको र हातमा गम्भीर चोट छ। जोशीसँगै मोटरसाइकलमा सवार नेकपा गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भागेर अपहरण र कुटपिटबाट जोगिएको बताइएको छ।

अज्ञात समूहले अपहरण गरी कुटपिट गरेपछि जोशीलाई उपचारका लागि शनिबार काठमाडौं ल्याइएको छ। धनगढीमा उपचार सम्भव नभएपछि जोशीलाई काठमाडौँ लगिएको हो।

आलिताल गाउँपालिका–३ को वडा बैठकमा जाँदै गर्दा उनलाई शुक्रबार अपहरण गरी कुटपिट भएको नेकपा जिल्ला कमिटी डडेल्धुराले जनाएको छ।

आलितालभन्दा करीब ५०० मिटरमाथि चौरवण्डले भन्ने स्थानमा मुखुण्डोधारी समूहले जोशीमाथि कुटपिट गरी गम्भीर घाइते बनाएको नेकपा जिल्ला कमिटी सचिव वीरेन्द्रकुमार बस्नेतले जानकारी दिए।

आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीको नेतृत्वमा खोजतलास गर्दा निर्घात कुटपिट गरी अलपत्र अवस्थामा उनी भेटिएका थिए। घटनाको अनुसन्धान भइरहेको प्रहरी सहायक निरीक्षक जोशीले बताए। RSS

प्रतिकृया दिनुहोस्