
जुम्ला : जुम्लाका ४० जनालाई कोरोना संक्रमण भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले परीक्षण गरेको रिर्पोटमा जुम्लाका ४० जनालाई पोजेटिभ देखिएको प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले बताए।
चन्दननाथ नगरपालिकामा १६ जना, जुम्ला कारागारका १० जना, नेपाल विद्युत प्राधिकरणका कर्मचारी ४ जना , अदालतका एक जना, तिला गाउँपालिकामा २ जना, तातोपानी गाउँपालिकाका २ जना, सिञ्जा गाउँपालिकाका १ जना, पातारासी गाउँपालिकाका १ जना, कनकासुन्दरी गाउँपालिका १ जनामा कोरोना पोजेटिभ देखिएको छ।
त्यस्तै पेश नेपालका कर्मचारी एक जना, कृषि कार्यालयका १ जना गरी ४० जनामा संक्रमण देखिएको हो। जुम्लाका चन्दननाथ स्थायी ठेगाना र बसोबास गरिरहेका व्यक्तिहरु रहेकाले जुम्ला सदरमुकाम उच्च जोखिममा रहेकोले त्रास थपिएको अस्पताल निर्देशक रावलले बताए। स्थानीय प्रशासनले संक्रमण फैलिन नदिन भन्दै लामो समय देखी निषेधाज्ञा गरेर आधा दिन खुकुलो भएको दुई दिन नपुग्दै पुन संक्रमण बढेपछि थप त्रास फैलिएको छ।
१४ गते संकलन गरिएको स्वाबका धेरैको पोजेटिभ देखिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसनमा रहेका ११ जना, र हिमा गाउँपालिकाको आईसोलेसनमा रहेका २१ जना डिस्चार्ज भएका छन्।
संक्रमण देखिएका सवैलाई आईसोलेशनमा राख्न तयारी भईरहेको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ओम प्रकाश देवकोटाले बताए । उनका अनुसार बुधवार बिहान सुरक्षा समितिको बैठक तथा कोभिड व्यवस्थापन समितिको बैठक बोलाइएको छ।