
काठमाडौं । विश्वभरि फैलिएको कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिमा बहराइनका लागि नेपाली राजदूतावासले नेपाल फर्कन चाहने १४६ जना नेपालीलाई विमान चार्टर गरेर बिहीबार नेपाल ल्याएको छ ।
राजदूतावासले बिदामा बहराइनबाट नेपाल आएपश्चात् फैलिएको कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान स्थगित भई नेपालमै रोकिएर पुनः रोजगारीमा बहाल हुन बहराइन जान इच्छुक १४५ जना नेपालीलाई पहिलो पटक बहराइन फर्काएको राजदूत पदम सुन्दासले जानकारी दिए।
राजदूत सुन्दासले भने, “कोरोना शुरु भएपछि सानो लगानीका होटल, रेस्टुरेन्टहरु बन्द भए, करीब एक हजार ३०० नेपालीले रोजगारी गुमाएका छन्, हामीले समस्यामा परेकालाई अप्रिल महिनामै नेपाल जान चाहनेलाई पठाएका थियौँ ।”
बाँकी नेपाल फर्किन इच्छुक र नेपालबाट पुनः रोजगारीमा बहराइन फर्किन इच्छुकलाई विमान चार्टर गरेरै नेपाल ल्याउने र बहराइन जान चाहनेलाई लैजाने योजना रहेको राजदूत सुन्दासको भनाइ छ । उनले भने, “अझै धेरै नेपाल जाने तयारीमा छन् । छिट्टै पठाउँछौँ ।
त्यहाँ कोही पनि नेपाली भोकै भएर दुःख पाएर बस्नु परेको छैन । दूतावासको सम्पर्कमा आएकालाई उद्धार राहत तथा खानबस्नको व्यवस्था गरेका छौँ ।”