RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/४ गते
१८५४ पटक

शनिबार राति करिब पौने एघार बजे प्रहरीले डा. गोविन्द केसीलाई अनसन बसिरहेको ठाउँबाट जबरजस्ती उठाएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पु-यायो।

१९औं सत्याग्रहको घोषणा गरेको सातौँ दिन आज (आईतबार) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसियु कक्षमा डा. केसीलाई राखिएको छ।

डा. केसीले सरकारले आफ्ना माग पूरा गर्न नचाहेका कारण ‘अपहरण’ गरेको जनाएको छ। ‘सत्याग्रहका हाम्रा मागहरु पूरा गर्न खोजिएको छैन। त्यसैले मलाई अपहरण गरेर अस्पताल ल्याईएको हो’ उनले भने।

‘राति ६-७ जना प्रहरी आए। मैले जान्नँ भन्दा पनि जबरजस्ती अस्पताल पु-याए। यहाँ सबैभन्दा ठूलो खेलो त प्रमुख जिल्ला अधिकारीले गर्दा रहेछन्। जनताको सेवा भन्दा पनि हत्यारा नेताहरूको आदेश मान्ने यिनिहरूको चलन छ,’ अस्पतालबाटै उनले भने।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले अपहरण गर्न लगाएको डा. केसीको आरोप छ।

उनले भने, ‘यो सबै कानुन मन्त्री नरेश भण्डारीको आदेशमा गरिएको हो। उनीहरूलाई मेरो स्वास्थ्यको ख्याल लाग्छ भने हाम्रा मागहरू पूरा गरिदिए भयो नि। मलाई अपहरण गरेर यहाँ नागरिकको अधिकार त खोसिएको छ नि। तानशाह प्रवृत्ती भयो यो त।’

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा प्रदेश सरकारले दमन गरेको उनको आरोप छ।

उनले भने, ‘पहिले भएका सम्झौता बमोजिम माग पुरा नभएकाले नै १९औं सत्याग्रह सुरु भएको हो। जनताप्रति उनीहरू उत्तरदायी भएको भए सम्झौता वमोजिमका मागहरु पहिले नै पूरा हुन्थे। सत्याग्रह गरिरहनुपर्ने आवश्यकता थिएन।’

प्रहरीले आफूलाई अपहरण शैलीमा अस्पताल पु-याएको आरोप लगाउँदै डा. केसीले स्वास्थ्य जाँच गर्न मानेका छैनन्।

कुनै पनि स्वास्थ्य जाँच नलिदाँ रगतमा चिनीको मात्रा न्यून भई प्रमुख अंगहरुमा जटिल समस्या देखिनसक्ने उनको चेकजाँचमा खटिएका चिकित्सकको भनाइ छ।

डाक्टरहरु प्रविणकुमार गिरी, धिरज गुरुङ, अनुपमंगल समाल र सविना थापाद्धारा हस्ताक्षरीत डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी पत्रमा रोग प्रतिरोधात्मक क्षमता कम हुदाँ संक्रमणको खतरा बढ्नसक्ने उल्लेख गरिएको छ।

www.aayomail.com साभार 

प्रतिकृया दिनुहोस्