RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/१५ गते
६२८ पटक

काठमाडौं । कोरोना भाइरसविरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच खोप नेपालमा भिœयाउने सम्झौता भएको हो । नेपालमा ल्याइने भनिएको ‘स्पुतनिक–५’ भ्याक्सिन ‘ह्युमन एडेनो भाइरल भेक्टर्स प्लेटफर्म’ मा आधारित छ ।

हाल रुसलगायत देशमा ४० हजार नागरिकमा भ्याक्सिनको तेस्रो चरण अर्थात् थर्ड ट्रायल भइरहेको छ । सो सफल भए आगामी माघसम्म नेपालमा भ्याक्सिन ल्याइने ट्रिनिटी फर्मास्युटिकल्सका प्रमुख कार्यकारी अधिकृत किशोर अधिकारीले बताए । उनले भने, ‘४० हजार नागरिकमा खोप परीक्षण सफल भए औषधि व्यवस्था विभागमा लाइसेन्सका लागि निवेदन दर्ता गर्छौं । यदि सबै प्रक्रिया पूरा हुँदै गए आगामी माघसम्म नेपालमा भ्याक्सिन आइपुग्छ ।’

‘स्पुतनिक–भी’ को तेस्रो चरणको परीक्षण आगामी जनवरीभित्र पूरा हुने अपेक्षा गरिएको उनले बताए । नेपालमा कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगका लागि औषधि व्यवस्था विभागमा निवेदन दिनुपर्छ ।

रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुतनिक–५’ नेपाल ल्याउने सम्झौता भएको रसियन डाइरेक्ट फन्डको वेबसाइटमा उल्लेख छ । भ्याक्सिन सन्दर्भमा ट्रिनिटीले गत जेठदेखि पहल गर्दै आएको थियो ।

फन्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरिल डिमिट्रेभले ट्रिनिटीसँग भएको सम्झौताबाट नेपालका ९० प्रतिशत जनसंख्याका लागि पुग्ने गरी भ्याक्सिन उपलब्ध हुने जानकारी दिए । २ करोड ५० लाख भ्याक्सिनले नेपालको ९० प्रतिशत जनासंख्यालाई समेट्ने बताइएको छ ।

भ्याक्सिन नेपाल ल्याउन सरकारले अनुमति दिनुपर्ने भए पनि हालसम्म कुनै पनि खोप ल्याउन आयातकर्ताले औषधि व्यवस्था विभागमा निवेदन नदिएको पाइएको छ ।

विभागका सूचना अधिकारी सन्तोष केसीले अहिलेसम्म खोप ल्याउन कसैको पनि निवेदन नपरेको बताए । उनले भने, ‘यस बारेमा जानकारी आएको त छ । तर, कसैले पनि खोप आयात गर्न अनुमति लिनुभएको छैन ।’ हाल कोरोना भाइरसविरुद्ध १ सय ४० वटा खोप परीक्षणको चरणमा रहेका छन् । स्रोतका अनुसार रुसी भ्याक्सिनलाई डब्ल्यूएचओले स्वीकृत नगरेको र अनुसन्धानकै क्रममा रहेको छ ।

दोस्रो चरणको परीक्षण पूरा हुनासाथ गत साउन अन्तिम साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाविरुद्ध रुसले पहिलो भ्याक्सिन बनाएको घोषणा गरेका थिए । राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्