RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/१५ गते
५५३ पटक

जिल्ला प्रहरी कार्यालयले हत्याका आरोपी सार्वजनिक गरेपछि आफन्तले सम्झना कामीको शव बुझेका छन् । बझाङ मष्टा गाउँपालिका– २, खिकालाकी १२ वर्षीया सम्झनाको ७ असोजको साँझ बलात्कारपछि हत्या भएको थियो ।

आफन्तले हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान राख्दै आएका थिए । बालिकाको बलात्कारपछि हत्यामा संलग्न २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले मंगलबार सार्वजनिक गरेपछि आफन्तले बुधबार शव बुझेका हुन् । आठ दिनदेखि सम्झनाको शव जिल्ला अस्पतालमा थियो । शव बुझेर आफन्तले गाडेका छन् ।

सम्झनाको बलात्कारपछि हत्या भएको पुष्टि भइसकेको निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले बताए । सम्झनाको आत्माले शान्ति पाओस् भन्दै सदरमुकाम चैनपुरमा बुधबार नै युवाहरूले दीप प्रज्ज्वलन गरेका छन् ।

बालिकाका हजुरबा गोरखबहादुर कामीले त्यही दिन छिमेकी बोहराविरुद्ध किटानी जाहेरी दिएका थिए । सम्झनाका आफन्तले आफूहरू अब न्यायको पर्खाइमा रहेको बताएका छन् । बोहराले गत २९ साउनमा समेत छिमेकी १३ वर्षीया बालिकाको बलात्कार गरेका थिए । तर, त्यो घटना पञ्चायत बसेर गाउँमै मिलाइएको थियो । नयाँ दैनिकबाट

प्रतिकृया दिनुहोस्