RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/१७ गते
८४५ पटक

काठमाडौँ,  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षाका कारण अवरुद्ध सडक बडादशैँ पहिले खुलाउने तयारी गरेको छ । खुल्न बाँकी दुई सडक केही समयभित्रै खुल्ने जनाइएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आज प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको भर्चुअल बैठकमा वर्षाका कारण अवरुद्ध सडक अधिकांश खुलिसकेको बताउनुभयो । उहाँका अनुसार यस वर्ष वर्षाका कारण झण्डै २५० स्थानमा सडक अवरुद्ध भए पनि सडक विभागले उपलब्ध जनशक्ति र उपकरणबाट सकेसम्म चाँडो सडक खुलाएको छ । उहाँले भन्नुभयो, “वर्षा शुरु हुनुभन्दा पहिले नै हामीले डिभिजनहरुलाई तयारी अवस्थामा राखेका थियौँ ।”

दशैँतिहारलगायत चाडपर्वका समयमा घर फर्किन चाहने यात्रुलाई स्वास्थ्य सावधानी अपनाएर जाने व्यवस्था मिलाइएको मन्त्री नेम्वाङले बताउनुभयो । उहाँका अनुसार कोभिडको जोखिम हुँदाहुँदै अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बाध्यता रहेकाले मध्यम र लामो दूरीको सवारी साधन खोल्ने निर्णय गरिएको हो । उहाँले भन्नुभयो, “लामो समयसम्म सवारी साधन अवरुद्ध हुँदा एकातिर व्यवसायी मारमा थिए भने मजदूरले पनि रोजगारी गुमाएका थिए ।”

भौतिक पूर्वाधार सचिव देवेन्द्र कार्कीले सडक विभागले बाढीपहिराबाट अवरुद्ध कतिपय सडक एकातर्र्फी रुपमा भए पनि सञ्चालन गरिएको बताउनुभयो । दशैँभन्दा पहिले १५ दिनभित्र वर्षाका कारण बिग्रिएका सडकको मर्मत गरिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवभित्रै हुम्ला सदरमुकाम सिमकोट सडक सञ्जालमा जोडिनेछ । उहाँले भन्नुभयो, “सेनाको सहयोगमा पनि यस वर्षभित्र सिमकोटसम्म सडक पुग्नेछ ।”

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले दुई राजमार्ग पूर्णरुपले अवरुद्ध भए पनि अरु सडक खुलिसकेको जानकारी दिनुभयो । वर्षाका कारण भत्किएका पुलका ठाउँमा बेलिब्रिज हाल्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वर्षा कम भइसकेकाले अहिले काममा बाधा छैन ।”

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले दशैँमा यात्रुलाई सुरक्षित घर फर्किने व्यवस्था मिलाउन लगिएको बताउनुभयो । विभागले ट्राफिक प्रहरीसँगको सहकार्यमा मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिका समेत पालना गराइरहेको छ । उहाँले भन्नुभयो, “हामीले गाडीको यान्त्रिक अवस्थाका बारेमा समेत छड्के जाँच गरिरहेका छौँ ।”

समितिका सभापति कल्याणीकुमारी खड्काले मुख्य राजमार्गको अवस्था नै खराब रहेको बताउनुभयो । सडकमा रहेका खाल्डाका कारण दुर्घटना हुन सक्ने जनाउँदै उहाँले मन्त्रालय र विभागले यसमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
समितिका सदस्य लीलानाथ श्रेष्ठ, आशाकुमारी विक, यज्ञराज सुनुवार, केदार सिग्देल, अनिलकुमार झा, टेकबहादुर बस्नेत, सञ्जयकुमार गौतम र रङ्गमती शाहीले लामो समयसम्म थन्किएका सवारी साधनको अवस्था खराब भएकाले त्यसले दुर्घटना निम्ताउन सक्ने बताए । उनीहरुले दशैँ पहिले नै वर्षाका कारण अवरुद्ध सडक खोल्न र खाल्डाखुल्ल्डी भएका ठाउँमा मर्मत गर्नुपर्ने औँल्याएका थिए ।    रासस

प्रतिकृया दिनुहोस्