RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/१८ गते
५३९ पटक

प्रदेश ५ को राजधानीका लागि दाङ प्रस्ताव गरिएपछि बुटवलमा आन्दोलन चर्किएको छ । आन्दोलन नियन्त्रण गर्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । शनिबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना जारी गरी बुटवलमा चार दिन निषेधाज्ञा घोषणा गरेको छ । आइतबार बिहान ६ बजेदेखि २१ असोज बेलुका ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।

यो अवधिमा सभा, जुलुस, प्रदर्शनलगायत गतिविधि गर्न–गराउन रोक लगाइएको छ । त्यस्तै, पाँचजनाभन्दा बढी व्यक्ति समूहमा उपस्थित भई हिँडडुल गर्न पनि नपाइने जनाएको छ । जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय, मन्त्री कार्यालयहरू तथा प्रदेश सभा भवन रहेका आसपासको क्षेत्रमा निषेधाज्ञा लागू गरेको हो ।

प्रदेश राजधानी दाङ प्रस्ताव गरिएको विरोधमा शनिबार पनि बुटवलमा प्रदर्शन भएको छ । रुपन्देहीमा आन्दोलन चर्काउन कांग्रेसले जिल्ला बन्दको कार्यक्रम घोषणा गरेको छ । त्यस्तै, रुपन्देहीका संघसंस्थाले पनि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । शनिबार साँझ विभिन्न स्थानमा मसाल जुलुस प्रदर्शन गरिएको छ ।

राजधानीको विषयमा छलफल गर्न शनिबार बुटवलमा बसेको नेकपा संसदीय दलको बैठकमा १४ सांसदले असहमति जनाएका छन् । उनीहरूले प्रदेशको अस्थायी राजधानी रहेको बुटवललाई नै स्थानीय राजधानी बनाउनुपर्ने जिकिर गरेका छन् ।

असहमति जाहेर गरेका सांसद डा. कृष्णप्रसाद न्यौपानेले संसद्बाट नाम र राजधानीका लागि समिति गठन भएर प्रतिवेदनसमेत तयार भएको अवस्थामा एकाएक जनभावनाविपरीत प्रस्ताव आएकाले विरोध गर्नुपरेको जनाए ।

प्रतिकृया दिनुहोस्