RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२१ गते
७६४ पटक

कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विमला केसी मन्त्रालयबाट जुम्लामा सञ्चालित योजना अनुगमनमा ब्यस्त छिन्। उनी प्रत्यक्ष योजना स्थलमा पुगेर किसानसंग छलफल गर्छिन्। कृषि क्षेत्रका समस्या र समाधानका विषयमा नागरिकको परामर्श लिन्छिन्। योजना अनुगमनका क्रममा सिँजा गाउँपालिकाको नराकोट पुगेकी कृषिमन्त्री केसीलाई स्थानीयले कृषि विश्व विद्यालय स्थापना गर्न माग गरे।

पहिलो पटक कृषिमन्त्री घरदैलोमा पुगेकोमा खुशी व्यक्त गर्दै स्थानीय नन्दराम रोकायाले कृषि विश्वविद्यालय विना कर्णालीको कृषि क्षेत्र अपुरो हुने बताए। उनले भने, ‘भेडाबाख्रा प्रशस्त पाइन्छ। कृषि खेतीको भण्डारण क्षेत्र पनि हो। तर पछिल्लो समयमा रोग किराको प्रकोप देखिन थालेपछि निकै पिडा थपिएको छ।’

यहाँको बालीनालीमा अनुसन्धान गर्न सक्ने, रोगकिराको पहिचान गर्न सक्ने र नियन्त्रण गर्न सक्ने दक्ष जनशक्ति उत्पादनका लागि कृषि विश्वविद्यालय अपरिहार्य छ। पहल अघि बढाइदिनु पर्यो। ’ अहिले कृषि क्षेत्रको जेटिए स्तर सम्मको पढाइ सिँजामै हुन्छ। तर त्यो भन्दा माथिल्लो कक्ष पठनपाठनका लागि यहाँका युवा जिल्ला बाहिर जानुपर्छ। महंगो शुल्क तिर्नुपर्छ। उनले थपे,‘ कर्णाली प्रदेश सरकारले कृषि विश्वविद्यालयको अवधारणा अघि सार्न सकेको खण्डमा दक्ष जनशक्ति जुम्लामै उत्पादन भएर बालीनालीको उचित रेखदेख र संरक्षणमा लगाउन सकिने अवस्था छ। ’

सिँजा क्षेत्रमा चारवटा गाउँपालिका छन्। यो उत्पादन हुने क्षेत्र पनि हो। यहाँ आलु प्रशस्त उत्पादन हुन्छ। स्याउ खेतीको प्रवल संभावना छ। तर भण्डारण गर्ने स्थान छैन्। स्थानीय गोपाल रोकायाले भने, ‘स्थानीय वस्तु संकलनका लागि विशाल भण्डारण कक्ष निर्माण भएको खण्डमा यहाँको खाद्यवस्तु बेचेरै किसान समृद्ध हुन सक्छन्। यो आधार जुम्लाको कृषि क्षेत्रमा छ।

यहाँ स्याउ भण्डारण गर्न नसक्दा भारतको स्याउ महंगोमा किनेर खानु परेको अनुभव सुनाए।  आलु ,स्याउ जम्मा गरेपछि बेच्ने ठाउँछैन्। यहाँको चिज सढेर जान्छ। कोल्ड स्टोरको लागि बत्तिको व्यवस्था छ। उनले भने,‘कोल्ड स्टोर र कृषि विश्वविद्यालय स्थापना हुन सकेको खण्डमा कृषि क्षेत्रमा आत्मनिर्भर हुने सक्ने देखिन्छ। अनुगमनका क्रममा स्थानीयले मालपोत कार्यालय स्थापना गर्न समेत माग गरेका थिए। भुमि व्यवस्था तथा कृषिमन्त्री विमला केसीले कृषि क्षेत्रमा जनताको लगाव निकै प्रसंसनीय रहेको बताइन्। उनले भनिन्,’‘कृषि विश्वविद्यालय र कोल्ड स्टोर निर्माणका लागि छलफल थाल्छौँ। ’ उनले रैथानेबाली प्रवद्र्धन गर्दै उत्पादन बढाउन किसानलाई आग्रह गरिन्।

कृषिमन्त्री केसीले कालिकोटको सिमाना नाग्मबजार हुदै सिँजा गाउँपालिकाको नराकोट सम्म र गुठिचौर, पातारासी र चन्दननाथ नगरपालिकामा सञ्चालित योजनाको अनुगमन गरिन्। नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्