RaraNews

शंकर के सी प्रकाशित : २०७६/१०/२१ गते
१०८८ पटक
शंकर के सी

जिल्लाभर सचेतनामुलक स्टिकर टाँस्ने अभियान चलाईएको छ । स्थानीय तहहरुको सहयोगमा जिल्ला प्रहरी कार्यालय सल्यानले घरघरमा स्टिकर टांस्ने अभियान चलाईरहेको छ । कपुरकोट र कालिमाटी गाउँपालिकामा पनि स्टिकर टाँस्ने अभियान सुरु भएको जिल्ला प्रहरी प्रमुख डिएसपि ढकेन्द्र खतिवडाले जानकारि दिए । यस अघि जिल्लाको शारदा, बागचौर, वनगाड कुपिण्डे नगरपालिका तथा छत्रेश्वरी, सिद्धकुमाख लगाएतका गाउँपालिकामा यो अभियान सुरु भइसकेको छ ।

गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेन, प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले कपुरकोटमा सचेतनामुलक स्टिकर टाँस्दै अभियानको सुरुवात गरेका हुन् । स्टिरमा व्यक्तिगत घटना दर्ता ३५ दिनभित्रै गर्नुपर्ने देखी वाल विवाह न्युनिकरण सम्बन्धी सचेतनामुलक नाराहरु राखिएको छ । यस्तै महिलालाई सम्मान गर्नुपर्ने सन्देश सहित आत्महत्य रोकथामबारे सचेतना फैलाउने उद्देश्यले स्टिकर तयार पारिएको छ । स्टिकरमा प्रहरी, गाउँपालिका, विद्युत, एम्बुलेन्स लगाएत अत्यावश्यक र आकस्मिक नम्बरहरु पनी रहेका छन् ।

घरघरमा टाँसिने यस प्रकारको स्टिकरले समाजमा सचेतना फैलाउने र कुनै घटना भैहालेमा तुरुन्तै सम्बन्धीत निकायमा खबर गर्न नागरिकलाई सजिलो हुने विश्वास गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष सेनले ब्यक्त गरे । कपुरकोट गाउँपालिकाका प्रमुख समेत रहेका सेनले जनप्रतिनिधी र प्रहरीको सहकार्यमा गाउँपालिकाभरी स्टिकर टाँस गरिने बताए ।

प्रमुख जिल्ला अधिकारी न्यौपानेले स्टिकर हेर्दा सानो रहे पनि यसको फाईदा र समाजमा पार्ने प्रभाव निकै ठूलो रहेको बताए । उनले समाजका विकृति, विसंगतीलाई हटाउन हरेक सचेत नागरिक एक हुनुपर्नेम जोड दिए । शंकर के सीले सहजिकरण गरेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले सभ्य र शान्त समाज निर्माणका लागि स्थानीय सरकार, प्रहरी र नागरिक विचमा समन्वयलाई जारि राख्नुपर्ने बताइन् ।

जिल्ला प्रहरी प्रमुख खतिवडाले सम्बन्ध विच्छेद, वहुविवाह देखी आत्महत्या जस्ता घटनाहरु हुनुमा विभिन्न कारण मध्ये बाल विवाह पनि प्रमुख कारणको रुपमा देखीएकाले यसलाई जरैबाट फाल्न प्रहरीले अभियान चलाईरहेको बताए ।

अपराध रोकथाम गर्न, समाजिक बिकृति एवं विसंगति बिरुद्ध जनचेतना फैलाउने र सुरक्षा व्यबस्थापनमा जनसहयोग जुटाउदै समग्र सामुदायिक सुरक्षालाई अभिबृद्धि गर्ने उद्देश्यले अभियान चलाईएको उनले बताए ।

यसैविच प्रहरी प्रधान कार्यालयको तर्फबाट कपुरकोट गाउँपालिकालाई प्रसंशा पत्र प्रदान गरिएको छ । शान्तिपूर्ण र सुरक्षित समाजको लक्ष्य साथ ल्याईएको समुदाय प्रहरी साझेदारी अवधारणाको कार्यान्वयनमा सहकार्य गरेको भन्दै गाउँपालिकालाई प्रशंशापत्र प्रदान गरिएको हो ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, साहित्यकार तथा समाजसेवी भद्रसिंह बुढा, वडा नं ५ का वडाध्यक्ष यम कुमार वस्नेत, १ का वडाध्यक्ष बालाराम खड्का, ६ का वडाध्यक्ष हेरम बहादुर बुढाथोकी लगाएतको सहभागीता थियो ।

प्रतिकृया दिनुहोस्