RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/४ गते
५५५ पटक

सरकारले सार्वजनिक सवारीमा पुरानै भाडादर कायम गर्न निर्देशन दिएको छ । सरकारी निर्णयअनुसार अब छोटो, मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी साधनले यात्रुसँग पुरानै भाडा लिनुपर्नेछ । यसअघि डेढ गुणासम्म भाडा लिनसक्ने सुविधा दिइए पनि सिट क्षमताअनुसार यात्रु राख्न पाउने व्यवस्था गरिएपछि भाडादर घटाइएको हो ।
सोमबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले छोटो, मध्यम ताथ लामो दूरीका सार्वजनिक सवारीसाधन तथा आन्तरिक हवाई सेवामा गत चैत ११ अघि कायम भएको नियमित भाडादर लागू हुने जानकारी दिए । यसअघि असार २३ गतेको मन्त्रिपरिषद् बैठकले असार २६ बाट छोटो दूरीमा जिल्लाभित्र मात्र सञ्चालन हुने सवारीसाधनले प्रचलित भाडादरमा थप ५० प्रतिशत थप भाडा लिएर कुल सिट क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्न पाउने निर्णय गरेको थियो । तर, यातायात व्यवसायी महासंघले सरकारसँग राखेको आवश्यक माग पूरा नगरेको भन्दै सवारी नचलाउने जनाउँदै अवज्ञा गरेपछि नयाँ सहमतिपछि साउन ८ बाटमात्र सार्वजनिक सवारी सञ्चालनमा ल्याएका थिए ।
सरकारले असोज १ बाट छोटो, मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी साधन खुल्ला गर्ने निर्णय गरेको थियो । जसअनुसार संक्रामक रोग ऐन, २०२० बमोजिम सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई अधिकार सुम्पिने र २ सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा अन्य जिल्लाबाट र त्यस्तो जिल्लाबाट अन्य जिल्लामा सवारी साधनको आवतजावतलाई नियमन, व्यवस्थापन वा नियन्त्रण गर्ने निर्णयमा भनिएको छ । यस्तै, ५ सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा वा जिल्ला भित्रको कुनै भागमा कुनै सेवा वा कार्यमा रोक लगाउने अधिकार प्रत्यायोजन गरीएको छ । यातायात वा आवागमन नियमन, व्यवस्थापन वा नियन्त्रणमा जारी भएको आदेशमा कुनै किसिमको व्यवधान नगर्न भनिएको छ । आगमन निषेध गरेका जिल्लामा कुनै पनि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको लखित अनुमति नभई अरू कुनै जिल्लाले त्यस्तो निषेध गरिएको जिल्लामा प्रवेश गर्ने गरी यात्रा अनुमति जारी नगर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्