RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/४ गते
७८८ पटक

गृहमन्त्री रामबहादुर थापाले नेपाली हवाई उड्डयन क्षेत्रमाथि युरोपेली आकासमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेका छन् । बुधबार युरोपेली युनियन (ईयू) का राजदूत नोना देप्रेजसँगको शिष्टाचार भेटवार्तामा गृहमन्त्री थापाले पछिल्लो समय नेपालले हवाई सुरक्षा र सेप्टीमा पर्याप्त सुधार गरेको भन्दै इयूले नेपालको हवाई उड्डयनका क्षेत्रमा लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेका हुन् ।

गृह मन्त्रालयमा भएको भेटमा नेपाल र ईयूका राष्ट्रहरूबीचको द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा नेपाली हवाई उड्डयनमाथि यूरोपेली आकासमा लगाइएको प्रतिबन्ध हटाउन उनले आग्रह गरेका थिए । उनले नयाँ राजदूतको कार्यकालमा नेपाल–ईयू सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे । गृहमन्त्री थापाले नेपालको विकास, लोकतन्त्र, मानवअधिकार र विपद् व्यवस्थापनलगायतका क्षेत्रमा ईयूले गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

भेटमा राजदूत देप्रेजले नेपाल र ईयूका राष्ट्रहरूबीच ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा सो सम्बन्धलाई थप बलियो बनाउन भूमिका खेल्ने बताएका थिए । उनले नेपाललाई ईयूले दिँदै आएको सहयोग निरन्तर रहने तथा आगामी दिनमा थप सहयोग बिस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । नेपालको हवाई क्षेत्रमा लगाइएको प्रतिवन्ध प्राविधिक विषय भएको बताउँदै सो सम्बन्धमा ईयूको प्राविधिक समितिले अध्ययन गररहेको तथा छिट्टै निश्कर्षमा पुग्ने आश्वासन राजदूत देप्रेजले दिएका छन् ।

ईयूले ०७० को मध्यबाट उसको सदस्य मुलुकभित्र सबै नेपाली वायुयान कम्पनीहरूलाई हवाई उडानमा निषेध गदैं आएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी) सूचीबाट नेपाललाई २०७४ साउनबाट नै हटाएको भए पनि युरोपियन युनियन (ईयू)को हवाई सुरक्षा सूची (ब्ल्याकलिस्ट) बाट नेपाल हालसम्म हटाएको छैन् । नेपाली विमान कम्पनीहरूको हवाई सुरक्षा मापदण्ड पूरा नगरेको, हवाई दुर्घटनालाई आधार मानेर ईयूले ब्ल्याकलिस्टमा राखेको थियो ।

पछिल्लो समय भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको हवाई सुरक्षाको सेफ्टीमा निरन्तर सुधार भएकाले गर्दा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघठन (आइकाओ)को सुधार सूचीमा रहेको बताउदैं आएको छ । हवाई क्षेत्रको समग्र क्षेत्रको सेफ्टीमा सुधार भएको साथै सुधारउन्मुख रहेको जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आइकाओले हालको प्राधिकरणले दुई संस्था भएर सेवा प्रदायक र नियामक निकाय भएपछि अडिट गरेर सेफ्टीमा भएको सुधारको प्रतिवेदन बुझाउने छ । हाल आइकाओसँग निरन्तर अनलाइनमा नेपालको हवाई सुरक्षामा भएका कामको विवरण आदान प्रदान गर्ने र निर्देशन अनुसार सुधारका कार्य भइरहेको छ । आईकाओ सन् २००९ मा पहिलोपटक नेपालको उडान सुरक्षा अडिट गरेको थियो । त्यस्तै अडिट फेरि हुने प्राधिकरणले जनाएको छ । कारोबार दैनिकबाट ……….

प्रतिकृया दिनुहोस्