RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/१० गते
५०७ पटक

काठमाडौं, कात्तिक १० । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बर्धन गर्न आह्वान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७ का अवसरमा शुभकामना व्यक्त गर्दै कोभिड –१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन आग्रह गर्नुभएको हो । “आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुन आएको छ”, राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भन्नुभएको छ, “विजयादशमी, २०७७ ले हामी सबैमा नयाँ उत्साह, उमङ्ग, जोश र जाँगर थप्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको कामना गर्दै मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।”

बडादशैंले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास पनि राष्ट्रपतिले गर्नुभएको छ । उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना पनि गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्