RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/१० गते
७३१ पटक

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले परिवारमा सीमित रही घरमै बसेर चाडवाड मनाउन अपिल गरेका छन् । दसैको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले भनेका छन्, ‘ यो वर्ष सिंगो विश्व समुदायसँगै हामी पनि कोरोना भाइरस (कोभिड–१९)को संकटसँग लडिरहेका छौं । यसको नियन्त्रण तथा रोकथामका लागि सरकारसँगै सरोकारवाला निकायहरुले गरिरहेका प्रयासहरुका बावजुद संक्रमण फैलदो क्रममा रहेको छ । चाडवाड तथा मेलापर्वहरुमा हुने जमघटले संक्रमणको जोखिम बढ्ने भएकोले आ–आफ्नो परिवारमा सीमित रही घरमै बसेर चाडवाड मनाउन हार्दिक अनुरोध गर्दछु । कोभिड–१९ को यो महामारीलाई जितेपछि आगामी वर्ष बडा दशैं लगायतका पर्वहरु भव्य र उल्लासमय रुपमा मनाउने नै छौँ ।’

शाहीले दसैँ, तिहार र छठ पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका कर्णाली प्रदेशवासी तथा समस्त नेपाली दिदीबहिनी, दाजुभाइहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसाँस्कृतिक विशेषतासहितको नेपाली समाजमा यी मौलिक चाडपर्वहरुले सामाजिक सद्भाव, एकता र भातृत्वको विकास गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको जिकिर गरेका छन् ।

कोभिड– १९ ले निम्त्याएको चुनौतीलाई नयाँ अवसरका रुपमा लिदै प्रदेशमा स्वास्थ्य पूर्वाधारहरुको विकास गर्दै कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले उल्लेख्य काम गरेको उनले जानकारी दिएका छ । आवश्यक संख्यामा प्रदेश र जिल्ला अस्पतालहरुमा भेन्टिलेटर र आईसीयू वेड क्षमताको विस्तार, प्रयोगशालाको स्थापना, नयाँ अस्पताल भवनको निर्माण, आइसोलेसन र क्वारेन्टिन व्यवस्थापन लगायतका कामहरु भएका् बताउँदै नागरिकको जीवन रक्षाजस्तो संवेदनशील विषयबाट सरकार पन्छिन मिल्दैन भन्ने मान्यताका साथ लक्षणसहितका कोभिड संक्रमित बिरामीहरुको निःशुल्क उपचारको व्यवस्थासमेत प्रदेश सरकारले गरेको उनको भनाइ छ ।

‘नयाँ चुनौतीका रुपमा खडा भएको यो संकटले निश्चय पनि विकास र समृद्धिको दीर्घकालीन लक्ष्यमा केही अवरोध उत्पन्न गरेको भए पनि बलिदानीपूर्ण संघर्षको प्रतिफलस्वरुप प्राप्त संघीय व्यवस्थाबाट जनताले गरेको विकास र समृद्धिको अपेक्षा पूरा गर्न योजनावद्ध रुपमा प्रदेश सरकार अगाडि बढिरहेको छ,’ शुभकामनामा भनिएको छ, ‘संघीयताको अभ्यासको क्रममा देखा परेको केन्द्रीकृत सोच, संविधानप्रदत्त अधिकार हस्तान्तरणमा इच्छाशक्तिको कमी लगायतका समस्याहरुसँग लड्दै समृद्ध कर्णाली प्रदेश र समृद्ध नेपाल निर्माणको लागि प्रदेश सरकार दृढ छ ।’

शाहीले बडा दसैँ लगायतका चाडपर्वहरुले सबै राजनीतिक दल, संघसंस्था, जनप्रतिनिधि, राष्ट्रसेवक, निजी क्षेत्र, सञ्चारकर्मीलगायत आम कर्णालीवासीमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गर्न कर्णाली प्रदेश सरकारले अगाडि सारेको ‘समृद्ध कर्णाली, सुखी कर्णालीवासी’को सोच साकार पार्ने प्रेरणा पैदा गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्