RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/११ गते
७७२ पटक

डोल्पाको त्रिपुराकोटमा दसैँको टीका–जमरा आफ्नै साइतमा लगाउने गरिन्छ । नेपालभर ज्योतिषको साइतअनुसार टीका–जमरा लगाउने गरे पनि डोल्पाको त्रिपुराकोटमा भने परापूर्वकालदेखि नै आफ्नै साइतअनुसार दसैँको टीका लगाउने प्रचलन छ ।

नेपालमै प्रसिद्ध शक्तिपीठका रूपमा रहेको त्रिपुरासुन्दरी मन्दिरमा बेलुकाको नित्यपूजापाठपछि मात्रै सबैले घरघरमा टीका–जमरा लगाउन सुरु गर्ने पुजारी भानुचन्द्र उपाध्यायले बताए । ‘नेपालभर टीकाको एउटै साइत भए पनि त्रिपुराकोटमा भने आफ्नै साइतमा लगाइन्छ,’ उनले भने, ‘त्रिपुराकोटवासीले मन्दिरमा नित्य पूजाआजाका लागि दशमीको दिन बिहानै प्रत्येक घरबाट जमरा टीका चढाउन लैजाने गर्छन् ।’

दसैँको औँसीको दिनदेखि दशमीसम्मको नवरात्र अवधिमा पूजाआजाका लागि आएका ब्राम्हण र पुजारीबीच एक–अर्कामा जमरा टीका लगाएर बिदाइ गरेपछि मात्र सबैले आ–आफ्नो घरमा टीका सुरु गर्ने प्रचलन अझै कायम रहेको पुजारी उपाध्यायको भनाइ छ ।

‘मन्दिरमा पूजा सकेपछि मात्र यहाँ टीका लगाउने चलन छ,’ उनले भने, ‘पूजाको विधि साँझ मात्र सकिन्छ । त्यसपछि बल्ल यहाँ टीका सुरु हुन्छ ।’

त्रिपुराकोटबाहेक जिल्लाका अन्य ठाउँमा भने ज्योतिषकाे साइतअनुसार नै जमरा टीका लगाइन्छ । ज्योतिषका अनुसार आज बिहान १० बजेर १९ मिनेटमा देशैभर टीकाको उत्तम साइत भए पनि त्रिपुराकोटमा भने रातिदेखि मात्र जमरा–टीका लगाउन सुरु हुने गर्छ ।

त्रिपुरासुन्दरी मन्दिरमा नवरात्र अवधिभर पूजाआजा गर्नका लागि जिल्लाका विभिन्न गाउँबाट ब्राह्मण तथा भक्तजनहरू आउने गर्दछन् ।

प्रतिकृया दिनुहोस्