RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/१३ गते
४९२ पटक

बैतडी । दशैको दिन थियो, आफ्नै वडाका वडासचिव नैनसिंह रोकायाको नेतृत्वमा आएका ब्यक्तिहरु राति ११ बजे दलित समुदाय काँडा गाउँमा पुग्यो । राति उक्त हूल त्यहाँ पुग्दा सुतिरहेका दलित समुदायका ब्यक्तिहरुको निद्रा खुल्यो, र बाहिर हेर्दा ठूल–ठूलो स्वरमा डूमहरु भन्दै, जोरजोरले गाली गर्दै, यिनीहरुलाई गाउँ निकाला गर्नुपर्छ भन्ने आवाज सुनियो । उनीहरुले गाली गर्दै कुट्न थाले ।

बैतडीको दुर्गम सिगास गाँउपालिका–६ स्थित काँडागाँउका दलित परिवारहरुले वडासचिवको ज्यादती सहेको यो पाचौँ पटक हो । वडासचिव रोकायाको घर तथा पसल दलितबस्ती नजिकै हो ।

स्थानीय राजेन्द्र बिकले भने ‘हामी दशै मनाएर बसेका थियौँ, यसरी कुटाइ खाइन्छ भन्ने के थाहा ?, राति ११ बजे हाम्रो बस्तीमा पसेका ब्यक्तिहरुले हामीलाई बिहान ३ बजेसम्म गालिगलौज गर्दै कुटे, हामीलाई गाउँ छोडेर जानुपर्छ भन्छन् । हामीले यसैगरी कुटाइ खाएको यो पाचौँ पटक हो, उनले भने, ‘अब हामी कता जाने ?’ हामीले २ महिना अगाडी यो ठाउँमा रक्सी बन्द गर्नुपर्छ भन्ने आवाज उठाएकाले हामीले अहिले यसरी कुटाइ खानु परेको हो, उनले भने ।’

वडासचिवको आफ्नै मदिरा पसल रहेको र त्यही मदिरा सेवन गरेर आएका खगेन्द्र रोकाया, भानबहादुर रोकाया, पदम रोकाया लगायतका ब्यक्तिहरुले आफुहरुलाई कुटपिट गरेको स्थानिय महेश बिकले बताए । उनले भने ‘हाम्रा घरका महिलालाई छातीमा लात्ती बजारे, राति सुतिरहेका महिलालाई तानेर घरबाहिर ल्याई कुटेकाछन् । यस्तो ज्यादति कत्ति सहेर बस्ने, हामीले मुद्धा हाल्न जान्छु भन्दा, गाउँमै मिल्नुस् भन्दैछन् ।’

कुटपिटबाट महामति बिक, हिरा लुहार, कलेभान बिक, इश्वर बिक र अनिस बिक घाइते रहेका छन् । घाइतेहरुको अवस्था भने, सामान्य रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले बताए ।

प्रतिकृया दिनुहोस्