RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/१६ गते
९१६ पटक

कोरोनाभाइरसको संक्रमण बढेसँगै राष्ट्रिय स्वास्थ्य सेवाका लागि ‘स्वास्थ्य र नैतिक विपत्’ रोक्न बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतमा दोस्रो पटक देश व्यापी लकडाउन घोषणा गरेका छन् । उनले यसपटकको क्रिसमस फरक हुने बताउँदै अहिले नै कदम चालिदा परिवारहरु पर्वलाई सँगै बसेर मनाउन पाउने आशा व्यक्त गरेका हुन् ।

बिहीबारबाट पब, रेस्टुरेन्ट, जिम र अतिआवश्यक सूचीमा नरहेका पसलहरु चार हप्ताका लागि बन्द हुने उनले जनाएका छन् । तर, स्कूल, कलेज र विश्वविद्यालय भने सञ्चालन गर्न पाइनेछ । २ डिसेम्बरबाट प्रतिबन्धहरुलाई खुकुलो बनाउँदै लगिने पनि उनले जानकारी दिए ।

‘यस वर्षको क्रिसमस निकै फरक हुनेछ, सायद धेरै नै फरक । तर मेरो आशा र विश्वास छ  अहिले हामीले लिएको कडा कदमले देशभरका परिवारलाई सँगै हुन दिनेछ,’ लकडाउन घोषणा गर्दै जोनसनले भने ।

लकडाउनले व्यवसायमा पार्ने असर प्रति माफी माग्दै जोनसनले दिनमा नै हजारौँको मृत्यु हुनसक्ने तथ्यांकलाई बेवास्ता गर्ने गैरजिम्मेवार प्रधानमन्त्री आफू बन्न नसक्ने उनको भनाइ छ । यसपटक मृत्युदर गत अप्रिलभन्दा पनि खराब हुनसक्ने प्रक्षेपण गरिएको उनको जानकारी दिए ।

बेलायतमात्र होइन युरोपमा कोरोनाभाइरसको संक्रमण बढेपछि फ्रान्स र जर्मनीमा पनि कडा प्रतिबन्धहरु लागू गरिएका छन् ।बीबीसी

प्रतिकृया दिनुहोस्