RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/१९ गते
६४८ पटक

काठमाडौं, कात्तिक १८ गते । पछिल्लो समय कोरोनाको हटस्पट बन्दै गएको बागमती प्रदेशका जिल्लास्तरीय, प्रादेशिक, निजी तथा संघीय अस्पतालहरुले कोरोना संक्रमितहरुको उपचारको लागि आइसोलेशन वार्ड, आईसीयू तथा भेन्टिलेटर कक्षलाई तयारी अवस्थामा राखेका छन् ।
कोरोना संक्रमितहरुको लागि आवश्यक रहेको अक्सिजनको मौजाद तथा त्यसको आपूर्तिको विषयमा ध्यान दिन थालेका छन् । बागमती प्रदेशका अस्पताल मात्रै नभएर नेपालभर जिल्लामा रहेका अस्पतालहरुले आइसोलेशन वार्ड, आईसीयू तथा भेन्टिलेटर कक्षसँगै अक्सिजनको मौजादको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निरन्तर जानकारी गराएका छन् ।
बागमती प्रदेशमा रहेका प्रादेशिक अस्पतालमा ७७ वटा, केन्द्रीय स्तरका अस्पतालमा ४९८, सरकारी अस्पतालमा पाँच, निजी अस्पतालमा एक हजार ११७ र मेडिकल कलेजहरुमा ११५८ वटा सिलिण्डर ग्यास कोरोना संक्रमितको उपचारमा प्रयोग भएका छन् भने प्रयोग नभएको ग्यास तयारी अवस्थामा रहेका छन् । केही अस्पतालले सिधै ग्यासको पाइप लाइनको तयारी गरिरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत पछिल्लो समय बागमती प्रदेश हटस्पटको रुपमा विकास हुन थालेसँगै यहाँ रहेका अस्पतालहरुमा लागि आइसोलेशन वार्ड, आइसीयू तथा भेन्टिलेटर कक्ष र अक्सिजनको अवस्थाको बारेमा निरन्तर फओअप गर्न थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बागमती प्रदेशमा रहेका निजी, सरकारी, संघीय अस्पताल, जिल्ला अस्पताल तथा प्रादेशिक अस्पतालसँग कति संक्रमितको उपचार गराउन सकिन्छ, आइसोलेशन वार्ड, आईसीयू तथा भेन्टिलेटर कक्ष र अक्सिजनको अवस्था कस्तो छ र काठमाडौं उपत्यकामा रहेका अस्पतालका जनरल वार्डलाई कसरी आईसीयूको सुविधा दिन सकिन्छ भनेर तयारी थालेको बताउनुभयो ।
काठमाडौंमा मात्रै हैन जिल्लामा रहेका अस्पतालमा समेत तयारी अवस्थामा राख्न जिल्लामा रहेको कोभिड व्यवस्थापन पोष्टसँग समन्वय भैरहेको अधिकारीले बताउनुभयो ।
आईसीयू, आइसोलेशन तथा भेन्टिलेटर सहितको वार्डको स्थापना तथा कोभिडका लागि निश्चित संख्या तोकेर उपचार सुरु भैसकेको मन्त्रालयले जनाएको छ ।
यस्तो छ प्रादेशिक अस्पतालमा मौज्जाद
त्रिशूली अस्पतालमा ३० शैयाको आइसोलेशन बेड, १० वटा आईसीयू र दुई वटा भेन्टिलेटर तयारी अवस्थामा छ । सो अस्पतालमा एक हजार लिटर क्षमताको अक्सिजन प्लान्ट र आवश्यक रहेको अक्सिजन सिलिण्डर  छ । सो अस्पतालले आफूलाई मात्रै नभएर आपसापका स्वास्थ्य केन्द्रमा आवश्यक पर्ने र होम आइसोलेशनमा रहेकाहरुलाई आवश्यक परेको अक्सिजन ग्यास समेत उपलब्ध गराउन सक्नेछ । यतीबेला बागमती प्रदेशमा मात्रै बागमती प्रदेशमा १७ हजार ६९२ होम आइसोलेशन र छ हजार ४१८ जना संस्थागत आइसोलेशनमा बसिरहेका छन् ।
त्रिशूली अस्पताल मात्रै हैन बाल कल्याण समितिको आइसोलेशन धादिङमा ३२ वटा आइसोलेशन वार्ड छ । सो सेन्टरमा १० सिलिण्डर ग्यास २४ घन्टा सहज रुपमा उपलब्ध भैरहेको छ । थप अक्सिजन निजी अक्सिजन प्लान्ट उद्योगहरुले समेत उपलब्ध गराएका छन् ।
जिल्ला अस्पताल रामेछापमा ३० शैयाको आइसोलेशन बार्ड  छ । सो अस्पतालमा आवश्यक रहेको ३० सिलिण्डर अक्सिजन रहेको र नियमित रुपमा काठमाडौ तथा काभ्रेबाट सहज रुपमा आपूर्ति गर्न सकिने व्यवस्था मिलाइएको छ । आइसोलेशनमा रहेका सबै बिरामीलाई एकै पटक अक्सिजन आवश्यक भए पनि सो ३० सिलिण्डरले माग धान्न सक्ने मन्त्रालयको अनुमान छ ।
रामेछाप अस्पतालमा समेत २० सिलिण्डर अक्सिजन रहेको र २० शैयाको आइसोलेशन सञ्चालनमा छ । रसुवा अस्पतालमा  छ सिलिण्डर ग्यास रहेको र २० जनाको आइसोलेशन बेड रहेकाले आवश्यकता अनुसार काठमाडौै नुवाकोटबाट लिएर जान सक्ने अवस्था छ ।
हैटौडा अस्पतालमा १२० जनाको आइसोलेशन रहेको र सो अस्पतालमा मौजाद सिलिण्डर ११ वटा  र ग्यासको सिधै पाइप लाइन बिछ्याउने प्रकृयामै छ । आइसोलेशन तथा कोरोनाको उपचारको विशेष अस्पतालको रुपमा विकास हुँदै गरेको भक्तपुर अस्पतालमा आइसियु छ र तीन वटा भेन्टिलेटर छ । यसको आइसोलेशन बेडको क्षमत विस्तार गरेको छ ।
यस्ता छन् संघीय अस्पतालको तयारी
प्रदेश स्तरका अस्पतालमा मात्रै हैन केन्द्रीय अस्पतालमा समेत कोरोना संक्रमितको लागि शैया, आईसीय र भेन्टिलेटर तथा अक्सिजन तयारी अवस्थामा राखेका छन् । नेपालकै जेठो अस्पताल बीर अस्पतालमा कोरोना संक्रमितका लागि १७० शैयाको आइसोलेशन, १० आइसियु र १० भेन्टिलेटर छन् । सो अस्पतालमा संक्रमितका लागि ३५ सिलिण्डर तयारी अवस्थामा छन् । तर सो अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट भए पनि सामान नभएको कारणले संचालनमा आउन सकेको छैन । सो अस्पतालले सबै अक्सिजन निजी स्तरका ग्यास उद्योगवाट ल्याइरहेको छ ।
नेपाल प्रहरी अस्पतालमा ११४ शैयाको आइसोलेशन वार्ड रहेको र सो अस्पतालामा संक्रमितका लागि आवश्यक रहेको ६० सिलिण्डर अक्सिजन ग्यास तथा १४ शैयाको आईसीयु तथा दुई वटा भेन्टिलेटर छन् ।
सशस्त्र प्रहरी बल अस्पतालमा २०० शैयाको आइसोलशेन छ । सो अस्पतालमा २० वटा आईसीय र आठ भेन्टिलेटर रहे पनि अक्सिजन सिलिण्डर भने छैनन् । राष्ट्रिय आर्युवेदिक अध्ययन केन्द्रमा समेत २२० आइसोलेशन रहेको र सो केन्द्रमा आईसीयू र भेन्टिलेटर नभए पनि २३ वटा अक्सिजन सिलिण्डर छन् । भरतपुर अस्पतालमा आफ्नौ प्लान्ट भए पनि यतीबेला काम गरिरहेको छैन । तर उससँग संक्रमितको उपचारको लागि ६५ सिलिण्डर अक्सिजन मौजाद छ ।
सरकारी अस्पतालमै छैनन् चाहिने जति सिलिण्डर
सरकारी स्तरवाट संचालन भैरहेको उपत्यकाको मुलपानी अस्पताल, टोखा पीएचसी, चाल्नाखेल पीएचसी, खरानीटार अस्पताल आइसोलेशन सेन्टर र भक्तपुर क्यान्सर अस्पतालमा खरानीटार अस्पतालमा पाँच सिलिण्डर बाहेक अरुमा अक्सिजन मौजाद छैन । यी सबै अस्पतालमा १०३ आइसोलेशन बेड छन् ।
निजी अस्पतालमा अक्सिजन, आईसीय ुको अवस्था राम्रो
निजी अस्पतालहरुमा अक्सिजन सिलिण्डर र कोरोना संक्रमितको उपचारमा छुट्टाइएको अवस्था राम्रो देखिएको छ । निजी अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट छन् भने व्यवस्थित पाइपलाइन गरिएका छन् ।
निजी अस्पतालमा एक हजार ८० आइसोलेशन, १६० आइसियु, ७६ भेन्टिलेटर र एक हजार ११७ अक्सिजन सिलिण्डर र दुईओटा अस्पतालमा आफ्नै अक्सिन प्लान्ट छन् ।
हेम्मस् अस्पतालमा ७० शैयाको आइसोलेशन, १९ शैयाको आइसियु १५ शैयाको भेन्टिलेटर छ । सो अस्पतालमा ७० सिलिण्डर ग्यास मौजाद छ । अल्का अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट छ । सो अस्पतालमा १८ आइसोलेशन र आठ वटा भेन्टिलेटर  छन् । सो अस्पतालमा १४५ वटा सिलिण्डर संक्रमितको उपचारको लागि मौजाद राखिएका छन् ।
इसान महिला तथा बालबालिका अस्पताल दुई शैयाको आइसोलेशन १२ शैयाको आइसियु र तीन शैयाको भेन्टिलेटर छ । सो अस्पतालमा ११४ सिलिण्डर ग्यास मौजाद रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शहीद मोमोरियल अस्पतालमा सात शैयाको आइसोलेशन रहेकोमा छ शैयाको आइसियु र तीन शैयाको भेन्टिलेटर र ११० सिलिण्डर ग्यास मौजाद  छ । मकवानपुर सहकारी अस्पतालमा सात सिलिण्डर ग्यास मौजाद देखिएको छ ।
चुरीहिल अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट छ भने उनीहरुसँग २० सिलिण्डर ग्यास मौजाद छ । हेटौडा अर्थाे एण्ड जनरल अस्पतालमा आठ सिलिण्डर अक्सिजन प्लान्ट छ । नेपाल कोरीया मैत्री अस्पतालमा १०० सिलिण्डर, सर्वाङ अस्पताल १०० सिलिण्डर, स्टार अस्पताल १० सिलिण्डर, बि एण्ड बी अस्पतालमा १००, ओम अस्पतालमा २००, ग्राण्डी अस्पतालमा १०० सिलिण्डर अक्सिजन मौजात रहेको मन्त्रालयले जनाएको छ ।
मेडिकल कलेजसँग एक हजार १५८ अक्सिजन मौजाद
नेपालमा रहेका मेडिकल कलेजहरुमा एक हजार १५८ सिलिण्डर अक्सिजन ग्यास मौजाद छ । मेडिकल कलेजमा ५७७ जना आइसोलेशन कक्ष, ३९ भेन्टिलेटर र ९३ आइसियु कक्ष  छन् । चितवन मेडिकल कलेजमा आठ सिलिण्डर छ भने ८३ जना आइसोलेशन, १६ आइसियु, पाँच भेन्टिलेटर कक्ष  छन् । उसँग आफ्नो अक्सिजिन प्लान्ट छ ।
कलेज अफ मेडिकल साइन्समा ११ आइसोलेशन वार्ड आठ आइसियु तीन भेन्टिलेटर र २० सिलिण्डर अक्सिजन मौजाद रहेको छ । काठमाडौै मेडिकल कलेजमा १०० आइसोलेशन, आइसियु १० , भेन्टिलेटर दुई जना र ६० सिलिण्डर मौजाद रहेको मन्त्रालयले जनाएको छ ।
नेपाल मेडिकल मेडिकल कलेजमा २८आइसोलेशन, आइसियु १० भेन्टिलेटर पाँच र १०० सिलिण्डर  छन् । किष्ट मेडिकल कलेजमा २० आइसोलेशन, आइसियु चार भेन्टिलेटर दुई जना र २५ सिलिण्डर रहेको छ । केयू धुलिखेल अस्पताल ७४ आइसोलेशन, आइसियु १५ भेन्टिलेटर तीन र १५ सिलिण्डर छ । पाटन हेल्थ अफ हेल्थ साइन्स. ११० आइसोलेशन, आइसियु १८ , भेन्टिलेटर १४ र ३०० सिलिण्डर छ ।
टियु टिचिङ अस्पताल १२९ आइसोलेशन, आइसियु नौ, भेन्टिलेटर १६ र ६०० सिलिण्डर रहेको छ । यो अस्पतालमा फरक फरक दुई वटा ठूला र साना आफ्नै अक्सिजन प्लान्ट छ । नोबेल अस्पताल २२ आइसोलेशन, आइसियु तीन, भेन्टिलेटरमा एक र ३० सिलिण्डर  छ ।

गोरखापत्र दैनिक……..

प्रतिकृया दिनुहोस्