RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२३ गते
८७९ पटक

माघ २३ गते । सरकारले सीपयुक्त जनशक्तिलाई प्राथमिकता दिँदै आए पनि विदेश जाने अधिकांश महिला सीपबिना नै जाने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागले तयार गरेको प्रतिवेदनले रोजगारीमा जानेमध्ये पुरुषको तुलनामा महिला श्रमिक सीपबिना नै विदेशिने धेरै रहेको पाइएको हो ।

सो प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा गएका महिलामध्ये ५९ प्रतिशत अदक्ष श्रमिक रहेका छन् ।
सो प्रतिवेदनमा कुल महिला श्रमिकमध्ये ५८ दशमलव ८४ प्रतिशत कुनै पनि सीपबिना नै जाने गरेको उल्लेख छ । प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा जानेमध्ये उच्च दक्षतायुक्त सीप भएका महिलाको सङ्ख्या ०.०६ प्रतिशत अर्थात् ६१ जना मात्र रहेका छन् ।

यसैगरी उच्च दक्षतायुक्त सीप भएका पुरुषको सङ्ख्या ०.०५ प्रतिशत अर्थात् ७८७ रहेको पाइएको छ । विगत तीन वर्षमा पेसाविद्का रूपमा श्रम स्वीकृति लिएर गएका महिलाको हिस्सा ०.३० प्रतिशत अर्थात् २९४ हुँदा सोही पेसामा जाने पुरुषको सङ्ख्या ०.११ प्रतिशत अर्थात् एक हजार ७४५ रहेको छ ।

महिलाको प्रमुख श्रम गन्तव्य कुवेत
नेपाली महिलाका लागि प्रमुख श्रम गन्तव्य मुलुक कुवेत रहेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५÷७६ को प्रगति प्रतिवेदनअनुसार गत वर्ष सबैभन्दा धेरै महिला कुवेत गएका छन् । यस्तै वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृतिका मुख्य गन्तव्यमा क्रमशः कतार, साउदी अरेबिया, यूएई, मलेसिया रहेका छन् तर महिलाको हकमा भने प्रमुख गन्तव्य कुवेत रहेको छ ।गोरखापत्र दैनिकबाट ….

प्रतिकृया दिनुहोस्