RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२३ गते
८१८ पटक

जुम्ला । चन्दननाथ गुठीको जग्गाा अतिक्रमण बढ्दै गएको छ । जुम्लाका पहुँचवालालेनै ठूलो मात्रामा गुठिको जग्गा अतिक्रमण गरिसकेका छन् । गुठिको लालपुर्जामा रहेकै जग्गामा अवैधरुपमा चन्दननाथ र भैरवनाथ मन्दिर परिसरमा विभिन्न व्यवसाय सञ्चालन गर्नुका साथै स्थायी संरचना बनाएका छन् ।

जुम्ला, बाजुरा, हुम्ला कालीकोट र मुगु पाँच जिल्लामा रहेको चन्दननाथ राजगुठीको १ लाख ४ हजार वर्गमिटर (करिब २ सय ५ रोपनी) जग्गा थियो । तर हाल मन्दिर रहेको क्षेत्रमा १४ सय ७९ वर्गमिटर र मन्दिर नजिक सेरा खेत ४८ हजार ३ सय वर्गमिटर मात्र रहेको प्रमाण गुठीसँग छ । प्रमाण अनुसार गुठीसँग हाल ९७ रोपनी जगा मात्रै रहेको देखिन्छ । बाँकी करिब १ सय ८ रोपनी जग्गा विभिन्न व्यक्ति र समूहले अतिक्रमण गरेको खुलासा भएको छ । विभिन्न क्षेत्रमा आवद्ध भएको जिल्लाका पहुँचवाला व्यक्तिहरूलेनै गुठिको जग्गालाई केही समय भाडामा लिने र पछि भाडामा लिएकै आधारमा अतिक्रमण गर्दै लैजाने गर्दा अनपेक्षित रुपमा गुठीको जग्गा मासिँदै गएको गुठीका उपाध्यक्ष दया खत्रीको निस्कर्ष छ । उनी भन्छन्, ‘जग्गा फिर्ता ल्याउन गुठीको तर्फबाट मुद्दा मामिला समेत गरियो । तर त्यसले डाँडाकोटको जग्गा मात्रै फिर्ता हुने प्रक्रियामा रहेको छ ।’

गुठीका पूर्वअध्यक्ष गौरीनन्द आचार्य ठूलो परिमाणको जग्गा व्यक्तिले नामकरण गरिसकेको बताउँछन् । उनी भन्छन्, ‘२०५८ साल अघि नै गुठीको नाममा भएको जग्गाको अतिक्रमण बढेको देखिन्छ । बिडम्बना अहिले ती अतिक्रमित जग्गा कसले ग¥यो भन्ने विवरण भएका मिसिल गूठीसँग मात्रै होइन यसका तालुकी कार्यालय जिल्ला मातपोत र नापीसँग समेत छैनन् ।’ ‘नापीका बेला आफ्नो नाममा गरेका रहेछन् धेरैपछि रहस्य खुल्यो ।’ उनले थपे, ‘गुठीको नामको हडपिएको जग्गाको खोजि गर्न जति नै ताकेता गरे पनि खोजी कार्यले सफलता हात पार्न सकिएन ।’

गुठी सञ्चालक समितिका सचिवसमेत रहेका रमानन्द आचार्यका अनुसार कुडारीमा १ लाख १९ हजार ४ सय ५२, कनकासुन्दरीमा २६ हजार २ सय ३५ वर्गमिटर, तलिहुममा २ लाख ३१ हजार ३ सय ३१ वर्गमिटर, कात्तिक स्वामिमा ४० हजार २ सय २४ वर्गमिटर, चन्दननाथमा ७० हजार ६ सय ६८ वर्गमिटर, पटमारामा ९० लाख ४ हजार ७ सय ८८ वर्गमिटर, देपालगाँउमा ४८ हजार ५८ सय ६९ वर्गमिटर, गज्यङकोटमा ८६ हजार ७४ वर्गमिटर, महतगाँउमा ८९ हजार ४ सय ७६ मिटर, बड्कीमा ११ लाख ५६ हजार १ सय ८८ वर्गकिलोमिटर जग्गा गुठीको नाममा छ ।कर्णाली पत्र दैनिकबाट साभार

प्रतिकृया दिनुहोस्