RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/५ गते
४८३ पटक

काठमाडौँ — मंसिर ११ देखि १३ सम्म हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा ७४ पदका लागि १ सय २७ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

उम्मेदवारको पहिलो नामावली बिहीबार साँझ प्रकाशन गर्दा १२७ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार दुई वटा पदमा आवश्यक संख्यामा मात्र उम्मेदवारी परेको छ । जसले गर्दा दुवै जना निर्विरोध भएका छन् । द्विराष्ट्रिय संघमा नेपाल–इन्डोनेसिया चेम्बर अफ कमर्सका अध्यक्ष सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भए ।

प्रत्येक प्रदेशबाट एक–एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । जसअनुसार प्रदेश १ बाट मोरङ व्यापार संघका राजेन्द्र राउत निर्विरोध भएका हुन् । तर निर्वाचन समितिले भने निर्विरोध भएको घोषणा गरिसकेको छैन । ‘उक्त पदका लागि एउटा मात्र उम्मेदवारी परेको छ,’ निर्वाचन अधिकृत लीलामणि पौडेलले भने । निर्विरोध भएका दुवै सदस्य वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्र ढकालको प्यानलका हुन् । ढकाल र किशोर प्रधानले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार दाबी विरोध उजुरीको समय पनि राखिएको छ ।

दाबी विरोध परेर निर्णय गरेपछिको उम्मेदवारको अन्तिम नामावली शुक्रबार साँझ प्रकाशन गरिनेछ । त्यसपछि उम्मेदवारी फिर्ता लिने समय दिइनेछ । ‘सबै प्रक्रिया पूरा भएपछि अन्तिम नामावली प्रकाशन गरिनेछ,’ पौडेलले भने । त्यस्तै निर्वाचन समितिले मतदान गर्न पाउने सदस्यहरूको नामावली प्रकाशन गरिसकेको छ ।

मतदान गर्न पाउनेमा जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ १ सय ७, वस्तुगत समूहतर्फ १ सय १ र द्विराष्ट्रिय उद्योग वाणिज्य संघ समूहमा १२ वटा मताधिकार छन् । एसोसिएट समूहतर्फ ९ सय २३ छन् । उम्मेदवारको अन्तिम नामावली भने मंसिर ८ गते प्रकाशन गरिनेछ । समितिका अनुसार निर्वाचन मंसिर १३ मा हुनेछ ।

कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस्