RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/९ गते
५२९ पटक

सुर्खेत, मङ्सिर ९ गते । सुर्खेत विमानस्थलको दोस्रो विस्तार सुनिश्चित भएको छ । धावन मार्ग विस्तारका लागि मन्त्रिपरिषद् बैठकबाट ३० बिघा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति पाएसँगै दोस्रोपटक विस्तार हुने निश्चित भएको हो ।
एक हजार २५५ मिटर लम्बाइ रहेको विमानस्थल साँघुरो र धावन मार्ग छोटो भएको भन्दै कम्तीमा तीन सय मिटर विस्तार गर्न आवाज उठिरहेकामा हालैको मन्त्रिपरिषद्को बैठकले जग्गा अधिग्रहण गर्न स्वीकृति दिएपछि अब धावन मार्ग कम्तीमा एक हजार पाँच सय मिटर लामो बनाउन सकिने भएको छ । यससँगै साना तथा ठूला जहाज पनि उडान तथा अवतरण गर्न सहज हुने विश्वास
गरिएको छ ।
मन्त्रिपरिषद्ले जग्गा अधिग्रहण गर्न स्वीकृति दिए पनि विमानस्थल विस्तारमा केही चुनौती भने अझै देखिएको छ । दक्षिणतर्फ रत्न राजमार्ग र काँक्रेविहार डाँडा रहेको छ भने उत्तरतर्फ विद्यालय तथा बाक्लो बस्ती छ । दक्षिणमा काँक्रेविहारको डाँडाले गर्दा सम्भव नभएकाले उत्तरतर्फ विद्यालय तथा बस्ती हटाएर भए पनि विस्तार गर्नुपर्ने आवाज विगतमा उठेको थियो ।
धावन मार्ग विस्तारका लागि सङ्घीय सरकार र कर्णाली प्रदेश सरकारबीच गत असोज १५ गते सम्झौता भएको थियो । जसमा दुवै सरकारले ५०÷५० प्रतिशत लगानी गर्ने उल्लेख छ । जग्गा अधिग्रहणका लागि लाग्ने रकममा प्रदेश र सङ्घीय सरकारले आधा–आधा बेहोर्ने बताइएको छ ।
सुर्खेत विमानस्थल विस्तारको माग गर्दै आएको निजी क्षेत्रले पनि मन्त्रिपरिषद्को निर्णयको स्वागत गर्दै अब जग्गा अधिग्रहणको कामसँगै विस्तारको काम पनि थाल्न आग्रह गरेको छ । सुर्खेत उद्योग वाणिज्य सङ्घका महासचिव लक्ष्मण कँडेलले धावन मार्ग विस्तार गर्दा उत्तरतर्फ गर्न सुझाव दिनुभयो ।
उहाँले दक्षिणतर्फ पनि सम्भावना भएको तर सडक र काँक्रेविहारको डाँडाले गर्दा केही कठिनाइ हुने उल्लेख गर्नुभयो । यद्यपि जता सहज हुन्छ त्यता गर्नुपर्ने उहाँको भनाइ छ । वर्षौंदेखि निजी क्षेत्रले सुर्खेत विमानस्थल विस्तारको माग गर्दै आएको र अहिले विस्तार गर्न जग्गा अधिग्रहण गर्न स्वीकृति दिएपछि प्रदेशमा हवाई यातायातको चाप बढ्ने छ ।
यहाँको धावन मार्ग सानो हुँदा ७२ सिटे जहाज आउन नसकेको र निजी क्षेत्रको एउटा ४२ सिटे जहाजले महँगो भाडा लिने गरेको छ । धावन मार्ग विस्तार भएपछि मध्यम जहाजहरू आउने र भाडा पनि सस्तो हुने महासचिव
कँडेलले बताउनुभयो ।
सुर्खेत नागरिक उड्डयन प्राधिकरणले हालको धावन मार्गको उत्तरतर्फ विस्तार गर्न सकिने प्रारम्भिक खाका निकालेको छ । प्राधिकरण प्रमुख उमेशकुमार पन्थीले केन्द्रको टोलीले विस्तारको अध्ययन गर्दा लम्बाइ उत्तरतर्फ ४६० मिटर, दक्षिणतर्फ करिब दुई सय मिटर र चौडाइ १६० मिटर क्षेत्र अधिग्रहण गर्न सकिने प्रारम्भिक निष्कर्ष निकालेको बताउनुभयो ।
दक्षिणतर्फ राजमार्ग भएकाले त्यसभन्दा तलतिर पनि जग्गा अधिग्रहण गरिने छ । धावन मार्गभन्दा पनि रात्रि उडानका लागि आवश्यक पर्ने बत्ती राख्नका लागि दक्षिणतर्फ पनि अधिग्रहण गर्नुपर्ने प्राविधिकले बताएको जानकारी पन्थीले दिनुभयो । उत्तरतर्फ भने बाक्लो बस्ती र विद्यालय छ । यसका साथै विमानस्थलको मूल गेटनेर टर्मिनल हल पनि बनाइने
बताइएको छ ।
अधिग्रहण स्वीकृति पाएपछि केन्द्रको टोली आएर सर्वपक्षीय छलफल गरी काम अघि बढाइने उहाँले बताउनुभयो । २०२३ सालमा स्थापना भएको सुर्खेत विमानस्थलको लम्बाइ एक हजार मिटर रहेको थियो । छ वर्षअघि २५० मिटर विस्तार गरी एक हजार २५५ मिटर पु¥याइएको थियो । गोरखापत्र दैनिकबाट 

प्रतिकृया दिनुहोस्