RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/११ गते
५६७ पटक

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा अत्यधिक नाफा राखेका कारण त्यसको भार वायुसेवा निगमलाई पर्ने गरेको छ । वायुसेवा निगमको जहाजले वार्षिक इन्धनमा मात्रै २ अर्ब खर्च गर्ने गरेको छ । अन्य विदेशी एयरलाइन्सहरूले नेपालमा उडान गर्दा थोरै मात्रै हवाई इन्धन भर्ने गरे पनि राष्ट्रिय ध्वजाबाहकले भने बाध्य भएर नेपालमै भर्नुपर्छ । अन्य देशको तुलनामा नेपालमा इन्धन भर्दा शतप्रतिशतसम्म महँगो पर्ने गर्छ ।

नेपालमा हवाई इन्धन महँगो हुँदा निगमले वार्षिक २ अर्ब ९९ लाख रुपैयाँ तेलमा मात्रै खर्च गर्नुपरेको छ । तेलमा मात्रै निगमको खर्च ४० प्रतिशत हुने गरेको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेल बताउँछन् । ‘सरकारले नै पहल गरेर नाफा कम राखेर निगमलाई तेल बिक्री गरेमा ठूलो खर्च कटौती हुने थियो,’ पौडेलले भने ।

उस्तै गुणस्तरको तेल विदेशका गन्तव्यमा पौने चार लिटर अर्थात् (३.७८५४ लिटर) मलेसियाको क्वालालम्पुरमा १.३८ डलरमा पाइन्छ । तर, काठमाडौंमा भर्दा करिब ३.५८ डलरसम्म पर्छ । यो शतप्रतिशतभन्दा महँगो हो । मलेसियामा निगमले प्रतिलिटर ४३.८९ रुपैयाँमा जहाजमा तेल भर्ने गरे पनि आफ्नै मुलुकमा भने प्रतिलिटर १ सय १३ रुपैयाँसम्म तिर्नुपर्छ । पछिल्लो समय मूल्य समायोजन गरेर प्रतिलिटर ८६ रुपैयाँ ८० पैसामा झारिएको नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए ।

निगमले आर्थिक वर्ष ०७६/७७ मा मात्रै ६ करोड ८३ लाख ७३ हजार ८ सय ६५ लिटर तेल भरेको थियो । यस वर्ष लकडाउनका कारण धेरै उड्न नपाउँदा तेल खपत कम भएको छ । विगतका वर्षहरूमा वार्षिक ३ अर्ब रुपैयाँ हाराहारी रकम तेलमा खर्च गर्ने गरेको छ । आयल निगमले आफ्नो नाफामा सामान्य मात्रै कटौती गर्ने हो भने वायुसेवा निगमले तेलमा हुने खर्चमा झन्डै १ अर्ब जोगिने निगम व्यवस्थापनको निष्कर्ष छ । निगमको वार्षिक खर्च ७ अर्ब हाराहारी हुने गरेको छ । तेलपछि स्पेयर्स पार्टस् तथा रिपेरिङमा निगमको खर्च हुने गरेको छ । बाँकी खर्च तलब र भत्तामा हुने गरेको छ ।

निगमले काठमाडौं विमानस्थलमा मात्रै एक वर्षमा १ करोड ३८ लाख ५५ हजार ९ सय १८ लिटर तेलमा १ अर्ब ५४ करोड ११ लाख रुपैयाँ खर्च गरेको छ । त्यसैगरी, दिल्ली र बैंग्लोरमा १ करोड २५ लाख ३० हजार ४ सय ३२ लिटर तेल खरिदमा ७१ करोड ९२ रुपैयाँ खर्च गरेको छ । तर, काठमाडौंमा सोहीबराबरको तेल भर्दा डेढ अर्ब रुपैयाँ खर्च गर्नुपरेको छ । निगमले काठमाडौंमा भन्दा १३ हजार लिटर मात्रै कम भरेको थियो । भारतकै मुम्बईमा २३ लाख ८५ हजार लिटर तेलमा १३ करोड ९२ लाख ५७ हजार रुपैयाँ खर्च गरेको थियो । भारतमा निगमको प्रतिलिटर ४६ रुपैयाँ मात्रै खर्च हुने गरेको छ ।

निगमले गत वर्ष मलेसियामा २९ लाख ५१ हजार ७ सय ४८ लिटर तेलमा २० करोड ४७ लाख ३० हजार रुपैयाँ खर्च गरेको थियो । मलेसियामा निगमलाई वार्षिक सरदर ४३ रुपैयाँ प्रतिलिटर खर्च पर्ने गरेको छ । निगमले हङकङमा २९ लाख ६७ हजार ५ सय ५२ लिटर तेलमा १७ करोड १२ लाख रुपैयाँ खर्च गरेको छ । हङकङमा निगमलाई वार्षिक सरदर प्रतिलिटर ४४ रुपैयाँ पर्ने गर्छ । निगमले बैंककमा ८ लाख ३५ हजार लिटर तेलमा १० करोड २ लाख रुपैयाँ मात्रै खर्च गरेको छ । त्यसैगरी, कतारको दोहामा १ करोड ४० लाख ३६ हजार लिटर तेल भरेको छ । जसको मूल्य ८५ करोड ३१ लाख ६२ हजार रुपैयाँ मात्रै खर्च गरेको थियो । निगमले दोहामा सरदर वार्षिक प्रतिलिटर ४४ रुपैयाँ खर्च गरेको छ ।

निगमले दुबईमा गत वर्ष १ करोड १४ लाख ३० हजार लिटर तेल भरेको थियो । जसमा ५९ करोड १ लाख ९९ हजार रुपैयाँ खर्च गरेको छ । दुबईमा निगमको वार्षिक सरदर प्रतिलिटर ४४ रुपैयाँ ७६ पैसा पर्ने गर्छ । निगमले गत वर्ष जापानको नारितामा ७३ लाख ८० हजार  लिटर तेल भरेको थियो । जसमा निगमले ६२ करोड ८६ लाख रुपैयाँ खर्च गरेको थियो । निगमले जापानमा प्रतिलिटर ४५ रुपैयाँ २१ पैसा खर्च गर्ने गरेको छ ।  नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस्