RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/११ गते
४९६ पटक

काठमाडौं । वैदेशिक रोजगार विभागले बिना जानकारी अन्तर्वार्ता लिने तीन वटा म्यानपावरको कारोबार रोक्का गरेको छ । विभागले एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनलको कारोबार रोक्का गरेको हो ।

नेपाल सरकारलाई जानकारी नदिई अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाएपछि विभागले यी म्यानपावरको कारोबार रोक्का गरिएको जानकारी दिएको छ ।

कतारले वैदेशिक रोजगार ऐनविपरीत कतार प्रहरीमा जान इच्छुक नेपालीको अन्तर्वार्ता लिन थालेपछि वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूमा छापा मारेको थियो । नेपाल सरकारलाई जानकारी नदिई अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाएपछि विभागले सोमबार र मंगलबार एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनलमा छापा मारेको थियो ।

विभागले तीनवटै कम्पनीका सञ्चालकलाई २४ घण्टाभित्र कागजातसहित उपस्थित हुन निर्देशन दिएको थियो । होप इन्टरनेसनलमा कतारी दूतावासको कूटनीतिक सवारीसाधनसमेत भेटिएको थियो।

कतारको आन्तरिक मन्त्रालयको मानव संसाधन विभागले अपारदर्शी ढंगबाट छनोट गरिएका म्यानपावर कम्पनीमार्फत जम्मा पारिएका युवासँग सोमबारै अन्तर्वार्ता लिन सुरु गरेको हो । अन्तर्वार्ता लिन कतारका कर्णेलको नेतृत्वमा टोली काठमाडौंमा आएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कतारको प्रहरी सेवामा भर्ना गर्न कतैबाट अनुमति नलिइएको बताए ।

यसैबिच मंगलबार लाजिम्पाटस्थित म्यानपावर कम्पनी होप इन्टरनेसनलमा छापा मार्दा काठमाडौंस्थित कतार दूतावासको सवारी साधान फेला परेको विषयमा दूतावासले स्पष्टीकरण दिएको छ। दूतावासले प्रेस नोट जारी गर्दै कतार पुलिसमा नेपाली नागरिक लैजानेबारे भइरहेको अन्तर्वार्ताको अनुगमनका लागि आएको कतारी नागरिकको टोलीलाई दूतावासले सवारी साधान उपलब्ध गराएको बताएको छ।

तर, कतारस्थित नेपाली दूतावासले श्रमिक माग प्रमणित नगरिकनै कामठाडौंमा भने धमाधम अन्तर्वार्ता भइरहेको छ। यसरी अन्तर्वार्ता लिनु अवैध भन्दै वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीमा सोमबार र मंगलबार छापा मारेको छ।

यस्तो अवैध काम भइरहेको स्थानमा दूतावासको सवारी साधन फेला परेपछि यो प्रकणमा दूतावासकै पनि संलग्नता रहेको हुनसक्ने भन्दै आलोचना शुरु भएको थियो। तर, दूतावासले यो प्रकरणमा दूतावासका कर्मचारीको कुनै संलग्नता नरहेको बताएको छ।

दूतावासले भनेको छ, ‘कतार पुलिसमा नेपाली नागरीकलाई लैजान कतारी नागरीक अन्तर्वार्ता लिन आएको विषयमा कतार राजदुतावासको कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छौ। नेपालवाट कतार मा आवश्यक पुलिसमा भर्ति गराउँन डिमाण्ड गर्ने केही म्यानपावर कम्पनीले कस्तो तालिम उपलब्ध गराइरहेका छन्, ती म्यानपावर कम्पनीमा कस्ताकस्ता प्रविधि उपलब्ध छन् र कतार पुलिसका लागि सांच्चिकै फिजिकल्ली र मेन्टल्ली फिट हुन सक्छन् सक्दैनन् भनेर म्यानपावर कम्पनीको सामान्य चेकजाँचको लागि आएको कतारी नागरिकको टोलिलाइ राज्यको जिम्मेवार निकाय राजदूतावासले सवारी साधन उपलब्ध मात्र गराएको हो, कतार पुलिसको कुनै पनि छनौट प्रक्रियामा राजदुतावासको कुनै किसिमको संलग्नता छैन।’

प्रतिकृया दिनुहोस्