RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/१२ गते
६१४ पटक

प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृद्ध बनाउन स्वदेशमै लगानी गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन् । उनले लगानीको पहिलो रोजाइ आफ्नै देश बनाउन आग्रह गर्दै नेपालमा कमाएर विदेशमा लगानी गर्न लैजाने प्रवृत्ति देशको हितविपरीत भएको टिप्पणी गरे ।

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभालाई बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशमा लगानी गर्दा केही बढी नाफा कमाए पनि त्यसले देश समृद्ध नहुने बताए । स्वदेशमै लगानीको वातावरण बताउन आवश्यक सुविधा, सहुलियत र कानुनी सुधार गर्न सरकार तयार भएको उनले धारणा राखे ।

विदेशको तुलनामा नेपालमा झनै धेरै अवसर भएको र त्यसलाई बढावा दिन गर्नुपर्ने परिवर्तनका लागि सरकार तयार भएको उनले बताए । ‘स्टार्टअप, नयाँ आइडियामा युवा पुस्ता अगाडि छन्, तिनको ज्ञानको उचित संरक्षण गर्न आवश्यक छ,” उनले भने । नेपाल उपभोक्तामुखी देश भएको भन्दै उनले डिपार्टमेन्टल स्टोरमा स्वदेशी सामान एउटा पनि नहुने विदेशी मात्रै किन्नुपर्ने बाध्यता रहेको बताए ।

उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिकालाई खुलेरै प्रशंशा गरेका प्रधानमन्त्री ओलीले स्वदेशी लगानीकर्ता तयार भए विदेशको लगानी खोज्न आवश्यक नभएको बताए । पछिल्लो समय सरकारले प्रत्यक्ष वैदेशिक लगानी आकर्षण गर्न नीतिगत सुधार गरेको छ ।

कोभिडको कष्टमा परेका बेला अर्थतन्त्रलाई पुरानो अवस्थामा फर्काउन सरकारलाई व्यवसायीहरूको साथ आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ । कुल गार्हस्थ्य उत्पादनको झन्डै ७० प्रतिशत योगदान रहेको निजी क्षेत्रले भने कोरोना विशेष क्षेत्रगत राहत प्याकेजको अपेक्षा गरेको छ । बढी प्रभावित क्षेत्रको मूल्यांकन गरी क्षेगगत राहत प्याकेज र चालू वर्षको बजेट र मौद्रिक नीतिले गरेको व्यवस्था कार्यान्वयनको जोड दिएको छ ।

महासंघ अध्यक्ष भवानी राणाले कारोनाका कारण विदेशबाट आउने नेपालीहरूको संख्या बढ्दो रहेकोले १० लाख रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताइन् । उनले कोभिडका कारण पर्यटन क्षेत्रलाई पुरानो अवस्थामा फर्काउका लागि कम्तिमा पनि ५ वर्ष लाग्ने भन्दै बजेट र मौद्रिक नीतिमा आएका व्यवस्थालाई तत्काल कार्यान्वयनमा जोड दिन ध्यानाकर्षण समेत गराइन् । कोरोनाका काराण चार प्रतिशतमात्रै उद्योग यथोचित रुपमा चले पनि ३१ प्रतिशत उद्योगहरू बन्द भएको र बाँकी उद्योगहरू पनि आंशिक रुपमा मात्रै चलेको उनले जानकारी गराइन् ।

वर्तमान जटिल परिस्थितिमा पनि सरकारसंगको सहकार्य, समन्वय र निजी क्षेत्रलाई एकढिक्का बनाएर काम गरेकोे भन्दै प्रधानमन्त्री ओलीले उनको नेतृत्वको सह्राना गरेका छन् । उनले अबका अध्यक्ष शेखर गोल्छासँग पनि निजी क्षेत्र र सरकारसँगको सहकार्य र समन्वयको गति नयाँ उचाइमा पुग्ने अपेक्षा राखेका छन् ।

साधारणसभामा विदेशमा लगानी गरेका व्यवसायीसँग केही असन्तुष्टि देखाउँदै उनले नेपालमा अवसर नै अवसर भएको, श्रम सस्तो भए पनि किन आफ्नो देश लगानीका लागि प्राथमिकतामा परेन भनेर प्रश्न गरे । राज्यले कसैलाई भेदभाव नगर्ने भन्दैै प्रधानमन्त्री ओलीले देशको वित्तीय अवस्था हेर्न पनि सबैलाई आग्रह गरेका छन । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोभिडले आर्थिक मन्दीको संकेत गरेको भन्दै अर्थतन्त्रलाई माथि उठाउन चुनौतीमा साझेदारी गर्न निजी क्षेत्र तयार भएको बताए ।

शनिबार निर्वाचन
चैत अन्तिम साता हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन सुरु भएको छ । जसअनुसार शनिबार वरिष्ठ उपाध्यक्ष तथा नीन उपाध्यक्षसहित कार्यकारिणी समितिका लागि निर्वाचन हुँदैछ । कोभिडका कारण महासंघको केन्द्रीय कार्यालय टेकु, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी र कार्की ब्यांकेट बबरमहल गरी तीन ठाउँमा निर्वाचन हुनेछ ।

यसपटकको चुनाव वरिष्ठ उपाध्यक्षका र सो भन्दा तल्लो पदका लागि हुनेछ । विधानले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने व्यवस्था गरेकोले हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अबका अध्यक्ष हुनेछन् । वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान प्यानल चुनावी प्रचारप्रसारमा छन् ।

ढकाल वर्तमान कार्यसमितिका एसोसिएट उपाध्यक्ष हुन भने प्रधान जिल्ला नगरका उपाध्यक्ष हुन् । ढकाल प्यानलमा वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघई र जिल्ला नगर उपाध्यक्ष गुणनिधि तिवारी उम्मेदवार छन् । प्रधान प्यानलमा वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा सौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ छन् ।

कारोबार दैनिकबाट…………………

प्रतिकृया दिनुहोस्