RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/१४ गते
५०४ पटक

काठमाडौं । चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एक दिने भ्रमणमा आज (आइतबार) काठमाडौं आउन लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा रक्षामन्त्री फेङ्हो १२ घण्टाका लागि नेपाल आउन लागेका हुन् ।

भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी आइतबार साँझ नै फर्कनेछन् ।

भारतीय रक्षा सचिव नेपाल आउने चर्चा चलिरहेकै बेला प्रधानमन्त्रीको निमन्त्रणमा चिनियाँ रक्षामन्त्रीको भ्रमण तय भएको हो । भारतको चीनसँगको सीमा विवादकै कारण चिसोपना भइरहेका बेला नेपालमा चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई भारतले विशेष चासोका साथ हेरेको छ ।

खास गरी चीनले भारतसँगको सीमा विवादमा मात्रै होइन, नेपालसँगको सीमाबाट विदेशी घुसपेठमा चीन सतर्क रहेको संकेत दिन पनि उनी आउन लागेका हुन् । चिनियाँ रक्षामन्त्री फेङ्होले सीमा सुरक्षाको विषयमा विशेष चासोका साथ आफ्नो कुरा राख्नेछन् । साथै चिनियाँ र नेपाली सेनाको संयुक्त सैन्य अभ्यासको विषयमा प्रधानसेनापतिसँग छलफल गर्नेछन् ।

दुई दिनअघि मात्रै दक्षिण छिमेकी भारतका विदेश सचिव हर्षवद्र्धन शृंगला दुई दिने औपचारिक भ्रमण पूरा गरेर फर्केलगत्तै चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा आउन लागेका हुन् । भारतीय ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलपछि भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेको दुई दिने नेपाल भ्रमणपछि चीनले नेपाल भ्रमणमा चासो देखाएको हो ।

चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि चिनियाँ रक्षामन्त्रीको भ्रमणको मिति तय भएको हो । चिनियाँ रक्षामन्त्री फेङ्हो नेपालमा १२ घण्टा बिताएर बंगलादेश र त्यसपछि पाकिस्तान जाने कार्यक्रम छ । चिनियाँ रक्षामन्त्री फेङ्होले काठमाडौंस्थित चिनियाँ दूतावासले आयोजना गर्ने द्विदेशीय सहयोग समन्वयको कार्यक्रममा सहभागिता जनाउनेछन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले गत वर्ष अक्टोबरमा दुई दिने नेपाल भ्रमण गरेपछि चीनबाट नेपालतर्फ उच्चस्तरको भ्रमण भएको थिएन । चीनबाट विरलै मात्रामा हुने उच्च तहको नेताको भ्रमण चिनियाँ राष्ट्रपति सीको भ्रमणपछि दोस्रो हो । चीनबाट हुने यो खालको भ्रमणलाई सकारात्मक रूपमा लिनुपर्ने परराष्ट्रविद्को भनाइ छ ।

केही साताअघि मात्रै भारत–अमेरिका रक्षा सम्झौता भएसँगै दक्षिण र पूर्वी एसियामा चीनविरोधी गठबन्धन बलियो हुँदै गएपछि चीन सशंकित रहँदै आएको छ । भारत–अमेरिकाको गठबन्धनसँगै चीनले नेपाललगायत अन्य मुलुकमा आफ्नो उपस्थिति बलियो बनाउने रणनीतिका साथ अगाडि बढेको हो । खासगरी पछिल्लो समय भारत र चीनबीच रहेको लद्दाखको सीमा विवादका कारण दुई देशबीच चिसोपना आइरहेको छ । लद्दाखको सीमा विवादकै कारण गत १५ जुनमा चिनियाँ सैनिकको आक्रमणबाट भारतीय २० सैनिक मारिएका थिए । त्यसपछि दुई देशबीच आएको चिसोपना मत्थर भइसकेको छैन ।

त्यसको प्रतिफल भारतले चिनियाँ वेबसाइट तथा एप बन्ददेखि सामान खरिदमा समेत प्रतिबन्ध लगायो । धेरैपटक चीन र भारतबीच वार्ता भए पनि ठोस निष्कर्षमा पुग्न सकेन । सीमा विवादपछि भारतले चीनबीच भर्चुअल बैठकमा मात्रै दुई पटक आमनेसामने समेत भइसकेका छन् तर सम्बन्धमा भने अझै चिसोपन रहेको छ ।

चीनसँगको सीमा विवादकै बीच भारतले अमेरिकासँग बेका सम्झौता गरेपछि पछिल्लो समय दक्षिण एसियाली मुलुकको भ्रमणमा चीनले अग्रसरता देखाएको हो । गत २७ अक्टुबरमा भारत र अमेरिकाले भूउपग्रहमार्फत प्राप्त हुने संवेदनशील डेटा एक अर्कासँग बाँड्ने सैन्य सम्झौता गरेको थियो ।

त्यस्तो डेटाको सहयोग क्षेप्यास्त्र, ड्रोन तथा अन्य निसानाहरूमा ठीक निसाना लगाउन महत्वपूर्ण मानिन्छ । अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र रक्षामन्त्री मार्क एस्परले भारतका विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए । जुन भेटसँगै अमेरिका र भारतको गठबन्धन बनेपछि चीनले नयाँ रणनीति बनाएर अगाडि बढेको हो । राजधानी दैनिक

प्रतिकृया दिनुहोस्