RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२४ गते
१२९३ पटक

कुष्ठरोगले अपाङ्गता भएका सङ्ख्या नेपालमा हालसम्म करीब ३० हजार रहेको एक अध्ययनले देखाएको छ । कुष्ठरोगमा लामोसयमदेखि काम गर्दै आएको आनन्दवन अस्पताल र दि लेप्रोसी मिसन नेपाल नामक गैरसरकारी संस्थाले संयुक्तरूपमा हालै सार्वजनिक गरेको अध्ययनमा सो औँल्याइएको हो ।

कुष्ठरोगको औषधि सेवन गरी निको हुने बिरामीको सङ्ख्या झण्डै एक लाख ९५ हजार र हरेक वर्ष तीन हजारभन्दा धेरै नयाँ बिरामी थपिने क्रम पनि निरन्तर रहेको अध्ययनमा जनाइएको छ ।

तीन वर्षको अवधिमा प्रति एक लाख जनसङ्ख्यामा नयाँ बिरामीको चाप प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा बढी रहेको देखिन्छ । प्रदेश नं २ मा आर्थिक वर्ष २०७३÷७४ मा १८ दशमलव ७९ , २०७४÷७५ मा १९ दशमलव ७७ प्रतिशत र २०७५÷७६ मा झन् बढेर २४ दशवलव २८ पुगेको देखिन्छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा आव २०७३÷७४ मा आठ दशमलव १५ प्रतिशत, २०७४÷७५ मा सात दशमलव ५१ प्रतिशत र २०७५÷७६ मा नौ दशमलव २८ प्रतिशत पुगेको छ ।

अस्पतालमा उपचार गराएका कुष्ठरोगीको सङ्ख्या हालसम्म २१ हजार ३३९ पुगेको छ । सन् २०१८ मा अस्पतालमा नयाँ बिरामी १५०, औषधि खाने ३७२, मिसनले विशेष उपचारका लागि सिफारिश गरेका सङ्ख्या ६९, पुनः अङ्ग फेर्ने वा हटाउने चिरफार गरिएको ११३ तथा सामान्य चिरफार गरिएको दुई हजार १२४ र अस्पतालमा भर्ना भई उपचार गराएको सङ्ख्या ८६५ रहेको अस्पतालले जनाएको छ ।गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्