RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/५ गते
४७२ पटक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानका लागि शनिबार शीर्ष नेताहरूका बीचमा भेटघाट तथा छलफलले तीव्रता पाएको छ । छलफललाई तीव्रता दिँदै नेताहरूले सहमतिको प्रयास जारी राखेका छन् ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको संकट समाधान गर्न सहमति गरेरै अघि बढ्नुपर्नेमा जोड दिँदै आएका छन् । प्रधानमन्त्री ओलीले सहमतिको मिलनबिन्दु खोज्ने उद्देश्यले शनिबार अर्का अध्यक्ष पुष्पकमल दाहालसँग दाहालकै निवास खुमलटारमा पुगेर सघन छलफल गरेका छन् ।

यसअघि दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा नै नियमित छलफल हुँदै आइरहेकामा प्रधानमन्त्री ओली शनिबार पहिलोपटक खुमलटार पुगेर अध्यक्ष दाहालसँग छलफल गरेका हुन् । छलफलका क्रममा अध्यक्षद्वय ओली र दाहाल पुरानै अडानमा अडिग भएपछि सहमति भने हुन नसकेको बताइएको छ । भेटमा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालसँग आफ्नो राजनीतिक प्रस्ताव फिर्ता लिएर सहमति गरेर अगाडि बढ्नुपर्ने अडान दोहो-याएका छन् तर दाहालले प्रधानमन्त्री ओलीको प्रस्ताव स्वीकार गर्न नसक्ने र बैठकबाटै टुंगो लगाउनुपर्ने बताए ।

पार्टीभित्रको विवाद समाधान गर्ने उद्देश्यले ओली र दाहालबीच छलफल चल्दै गर्दा उपाध्यक्ष वामदेव गौतमसमेत खुमलटार पुगेपछि तीन नेताका बीचमा केही समय छलफल भएको नेकपा स्रोतले जनाएको छ । उपाध्यक्ष गौतमले पछिल्लो समय पार्टी एकताका लागि दुई अध्यक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिँदै आएका छन् ।

२८ कात्तिकको सचिवालय बैठकमा दाहालले ओलीमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गरेका थिए । त्यसपछि १३ मंसिरको बैठकमा ओलीले दाहालमाथि गम्भीर आरोपसहित प्रत्युत्तर दिएका थिए । एकले अर्कालाई गम्भीर आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद थप चर्केको छ । यद्यपि दुई अध्यक्ष ओली र दाहालबीच पछिल्लो समय लगातार वार्ता र संवाद हुँदै आइरहेको छ ।

ओली समूहले दुवै अध्यक्षको प्रस्ताव फिर्ता लिएर साझा प्रस्ताव तयार गरी बैठकमा छलफलका लागि पेस गर्नुपर्ने अडान लिएको छ । दाहालको प्रस्तावलाई ओलीले ‘आरोप पत्र’ को संज्ञा दिँदै त्यस प्रस्तावमा छलफल भए आफू बैठकमै नजाने बताउँदै आएका छन् । तर दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह दुवै अध्यक्षको प्रस्तावमा छलफल गर्दै बैठकले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने अडानमा छन् ।

सचिवालय हुँदै अध्यक्षद्वय ओली र दाहालको प्रस्ताव अहिले स्थायी कमिटी बैठकमा समेत छलफलका लागि सदस्यहरूलाई दिइएको छ । ओली र दाहालका प्रस्तावका साथै दुवै अध्यक्षका बीचमा आदानप्रदान भएको पत्रसमेत छलफलका लागि पेस गरिएको छ ।

स्थायी कमिटी बैठक आइतबार बस्दै छ । बैठक बस्नुअघि सहमतिको प्रयास गरिए पनि नेताहरू आ–आफ्नै अडानमा अडिग भएपछि विवाद समाधानमा कठिन हुँदै आएको छ ।

प्रधानमन्त्री ओली खुमलटारबाट बाहिरिएलगत्तै वरिष्ठ नेता नेपाल अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेका थिए । ओली खुमलटारबाट बाहिरिएपछि दाहाल, नेपाल र गौतमबीच छलफल भयो ।

बालुवाटार फर्कने क्रममा पुल्चोकस्थित मन्त्री निवास पुगेर प्रधानमन्त्री ओलीले नेकपा सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापासँग केही बेर छलफल गरे ।

थापाको निवासमै प्रधानमन्त्री ओलीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, कानूनमन्त्री शिवमाया तुम्बाहाम्फेलगायतसँग पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका थिए ।

शनिबार साझ नै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । प्रधानमन्त्री ओलीले बालुवाटारमै आफू निकट केही नेतासँग आगामी रणनीतिबारे छलफल गरेको बताइएको छ ।

राजधानी दैनिकबाट……………..

प्रतिकृया दिनुहोस्