RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/६ गते
४७३ पटक

सरकारले कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध खोपको खरिद, व्यवस्थापन र वितरण गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । सरकारले कोभिड–१९ स्वास्थ्य क्षेत्र दु्रत कार्ययोजना तयार गरी पहिलो चरणका लक्षित समूहलाई माघसम्म खोप लगाउने गरी तयारी गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिकदेखि माघसम्मका लागि सार्वजानिक गरेको ४ महिनाको कोभिड १९ स्वास्थ्य क्षेत्र दु्रत कार्ययोजनामा खोपसम्बन्धी क्रियाकलापहरूका लागि १० अर्ब २५ करोड रुपैयाँ अनुमानित बजेट विनियोजन गरिएको जनाएको छ ।

कार्ययोजनाबमोजिम खरीद गर्नु पर्ने खोपसहितका अन्य अत्यावश्यक सामग्री, औषधि तथा उपकरणहरूका लागि छुट्याइएको बजेटमध्ये संघीय सरकारले ६५ प्रतिशत खर्च गर्ने जनाइएको छ । जसमध्ये ५० प्रतिशत सम्बन्धित अस्पतालहरूलाई प्रतिकेस व्यवस्थापन गरे वापत शोधभर्ना गर्ने उल्लेख छ । आकस्मिक प्रयोजनको लागि खरिद गर्न १५ प्रतिशत संघ र ५-५ प्रतिशतका दरले हरेका प्रदेशमा उपलब्ध गराइने उल्लेख छ ।

संक्रमणको जोखिममा रहेका मानिसलाई खोप दिनका लागि माघ महिनाको पहिलो हप्तादेखि चौथो हप्तासम्म प्रतिहप्ता ५ सयको दरले २ हजार स्वास्थ्यकर्मीलाई तालिम दिने योजना समेत रहेको छ । यसका लागि ३७ लाख ५० हजार खर्च हुने अनुमान छ । यसैगरी खोप भण्डारणका लागि कोल्ड चेन निर्माण, योजना र कार्यान्वयनका लागि १ करोड र खोप खरिदका लागि १० अर्ब बजेट खर्च गर्ने योजना बनाएको छ ।

सरकारले कोष खरिदका लागि आवश्यक पर्ने थप रकमका लागि सरकारी, दाता तथा निजी क्षेत्रबाट रकम जम्मा गरी कोषमा राख्ने जनाएको छ । कोभिडको खोपको टेन्डर र खोप वितरणमा संघीय सरकारले ८ अर्ब, प्रदेशको ५० करोड र स्थानिय तहले १ अर्ब ५० करोड खर्च गर्नु पर्ने उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले खोप आविष्कारका शुभसंकेत देखा परेका कारण विकसित खोप प्राप्त गर्ने र सबै नागरिकलाई लगाउने कामलाई योजनाबद्ध तरिकाले अघि बढाइरहेको बताए । उनले कोभिड बिरुद्धको खोप क्रमस सबै नेपाली पाउने सुनिश्चिता सरकारले गर्ने गरी योजना अघि बढाइसकेको बताए ।

निकट भविष्यमा प्राप्त हुन सक्ने सम्भाव्य खोपहरूको अवस्थालाई मूल्यांकन गरी कात्तिक, मंंसिर, पुस र माघको आधारभूत पक्षहरूलाई ध्यान दिई कार्ययोजना बनाएको छ । सरकारले सम्भाव्य खोपको लक्षित समूह पहिचान तथा प्राथमिकीकरण, कोल्ड चेन, तालिम, खरिद, भण्डारण, वितरण, सञ्चार लगायतलाई ध्यानमा राखी कोभिड १९ कोप कार्ययोजना बनाई लागू गरेको जनाएको छ ।

खोप प्राप्त भएमा पहिलो चरणका लक्षित समूहहरूलाई माघसम्म खोप ल्याउने गरी तयारी गरेको छ । पहिलो चरणमा कोभिड नियन्त्रण, उपचार र रोकथाममा काम गर्ने अग्रपंक्तिमा रहेका जनशक्तिलाई वितरण गरिने उल्लेख छ ।
खोप आपूर्ति व्यवस्थापन

आगामी चार महिनामा सम्भाव्य कोभिड संक्रमणको अनुमानित संख्याका आधारमा आवश्यक पर्ने सामग्रीहरूको भण्डारण पुस महिनाभित्र तयार गरिने जनाइएको छ । आगामी दिनहरूमा कोभिड विरुद्धको खोपलाई यथासम्भव चाँडै लक्षित समूहसम्म पु¥याउनका लागि कोल्ड चेन व्यवस्थापनमा व्यापक पुनरावलोकन तथा सुदृढीकरणको कार्य अगाडि बढाइने कार्ययोजनामा उल्लेख छ ।

आगामी चार महिनामा सम्भाव्य संक्रमणको अनुमानित संख्याका आधारमा आवश्यक गर्ने कोषको भण्डारण गर्ने गरी पूर्वाधार तयारीलाई पहिलो प्राथ्मिकतामा राखिएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणले जनसांख्यिक हिसाबले दक्षिण एसियामा भारतपछि दोस्रो बढी संक्रमण नेपालमा रहेको छ ।

नेपालमा बढी जनघनत्व भएका जिल्ला, व्यापारिक केन्द्र रहेका ठूला शहरमा संक्रमण उच्च देखिएको सरकारले जनाएको छ । हाल प्रतिदिन पत्ता लागेका संक्रमितमध्ये आधाभन्दा बढी ६८ प्रतिशत काठमाडौं उपत्यकामा रहने गरेका छन् भने काठमाडौं जिल्लामा मात्रै नयाँ संक्रमितको भार ५५ प्रतिशत रहेको छ । मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, बाँके, रुपन्देही र सुर्खेतमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । कारोबार दैनिकबाट 

प्रतिकृया दिनुहोस्