RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/६ गते
६६१ पटक

कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको सर्वदलीय बैठकले प्रतिनिधिसभाको विघटन गर्ने सरकारको असंवैधानिक कदमको साझा प्रतिकार गर्ने भएका छन् । बैठकले संसद् विघटन गर्ने सरकारको अलोकतान्त्रिक र असंवैधानिक कदमका विरुद्धमा साझा प्रतिकार गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभाको विघटन गरेकी थिइन् । त्यसको प्रतिरोधका लागि कांग्रेसले सर्वदलीय बैठक बोलाएको थियो ।

बैठकमा नेकपाका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहसहित कांग्रेस र जनता समाजवादी पार्टी सहभागी थिए । सरकारको असंवैधानिक कदमविरुद्ध विरोधका कार्यक्रम र पार्टीका थप रणनीति बनाउन मंगलबार तीनवटै दलले केन्द्रीय समिति बैठक बोलाएका छन् । ‘मंगलबार तीनवटै दलका केन्द्रीय समितिका बैठक बस्दै छन्, त्यसले थप रणनीति तयार गर्छ, र त्यसपछि पुनः तीन दलको बैठक बसेर थप कार्यक्रम तयार गर्छौँ,’ कांग्रेस नेता रमेश लेखकले भने ।

बैठकमा नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, नेता झलनाथ खनाल, प्रवक्ता श्रेष्ठ, नेता वर्षमान पुन सहभागी थिए । कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पदाधिकारी र शीर्ष नेता सहभागी थिए भने जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर र शरतसिंह भण्डारी सहभागी थिए ।

प्रतिकृया दिनुहोस्