RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/७ गते
४८१ पटक

सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो, नेपाल सरकारले । त्यसका लागि नेपाल सरकारले नेपाल भ्रमण वर्ष–२०२० घोषणा गरेको थियो । तर, सन् २०२० लाग्दा नलाग्दै कोभिड–१९ को महामारी सुरु भयो ।

फलतः नेपाल सरकारले फेब्रुअरीताका नेपाल भ्रमण वर्ष स्थगित गर्न बाध्य भयो । अवस्था ठीकठाक भएर नेपाल भ्रमण वर्ष–२०२० मनाउन पाएकै भए पनि २० लाख त त्यस्तै हो, अनुमानित १५ लाखसम्म विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने थिए होलान् । किनभने होटलबाहेक अन्य पूर्वाधार जस्तै अन्तर्राष्ट्रिय हवाई यातायातलगायत पूर्वाधार नै छैन, नेपालमा । निश्चय नै संख्या नपुगे तापनि नेपाल भ्रमण वर्ष–२०२० लाई नेपालको पर्यटनलाई विश्वव्यापी रूपमा प्रचारप्रसार गर्ने एउटा अर्को अवसर वा भनौं प्लेटफर्मका रूपमा भने पक्कै पनि प्रयोग गर्न सकिन्थ्यो ।

नेपालले हुन पनि हाम्रो जस्तो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पर्यटन उद्योगको योगदान केवल २.३, २.९, ३.४ देखि बढीमा ४.७ सम्म रहेको देशमा समेत लगभग १० महिनामा (कोभिड–१९ को महामारी यता) मात्रै २४ अर्बभन्दा बढी नेपाली रुपैयाँबराबरको क्षति बेहोरेको छ । त्यस्तै पर्यटन क्षेत्रमा लागेका मजदुरहरूको विचल्ली अवस्था छ ।

पर्यटन व्यवसायीहरूका लागि नेपाल सरकारले सानोतिनो प्याकेज ल्याएको भए तापनि पर्यटन मजदुरहरूका लागि सरकारले त्यस्तो केही पनि प्याकेज ल्याएन, न त राहतस्वरूप केही रकम वा खाद्यान्न नै उपलब्ध गरायो । उल्टै पर्यटन मजदुरहरूका लागि पनि सरकारले केही प्याकेज, राहत र सहुलियत उपलब्ध गराउनुप¥यो भनी नेपाल पर्यटन बोर्ड घेरा लाउन गएका पर्यटन मजदुरहरूलाई प्रहरी प्रशासनले लाठी–मुङ्ग्री ! गरेको थियो ।

नेपाली पर्यटनमा विदेशीहरूले गर्ने खर्च भनेको होटलपछि हिमाल आरोहण, पदयात्रा (ट्रेकिङ) र जलयात्रा (-याफ्टिङ) मा हो । हुन त पछिल्लो पटक केही हदसम्म मनोञ्जन र सपिङमा पनि नेपाल आउने विदेशी पर्यटकले खर्च गर्ने गरेका छन् । त्यस्तै पहिलेभन्दा तीन दोब्बर बढी विदेशी पर्यटकहरू पदयात्रा (ट्रेकिङ) मा पनि जाने गरेको देखिन्छ ।

यसरी हिमाल आरोहण, पदयात्रा (ट्रेकिङ) र जलयात्रा (-याफ्टिङ) मा जाने पर्यटकहरूलाई अनुमति दिएबापत उनीहरूबाट नेपाल सरकारले पनि मनग्गे आम्दानी गरिरहेको छ । यस्तो आम्दानी सलामी दस्तुर वा भनौं रोयल्टी, अन्य शुल्क र निषेधित क्षेत्रबाट पनि अरू महँगो शुल्क लिएर सरकारले कमाइ गर्ने गर्छ । तर, नेपाल सरकारले शुल्क लिएअनुसार पर्यटकलाई सेवा–सुविधा दिने काम भने गर्न सकेन भन्ने पर्यटकहरूको सधैं गुनासो रहने गरेको छ ।

जे होस्, नेपाल पर्यटन बोर्डले पछिल्लो पटक प्रकाशित गरेको तथ्यांकअनुसार सन् २०२० को नोभेम्बरसम्ममा २ लाख २० हजार १ सय २० जना विदेशीले मात्रै नेपालको भ्रमण गरेका छन् । यो तथ्यांक भनेको सन् २०१९ को तुलनामा लगभग ८१ प्रतिशतले कम हो । स्मरणीय छ, सन् २०१९ को नोभेम्बरमा मात्रै १ लाख ३० हजार ३ सय २ जनाले नेपाल भ्रमण गरेका थिए ।

नेपाल भ्रमणमा आएका २ लाख २० हजार १ सय २० जना विदेशी पर्यटकमध्ये लगभग ६० हजार पर्यटक छिमेकी देशहरू भारत र चीनबाट आएका छन् । त्यसमध्ये भारतबाट ४० हजार ६ सय ४९ र चीनबाट १८ हजार ८ सय ३० जना पर्यटक नेपाल आएका छन् ।

सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानमा देखा परेको बेला नोभेल कोरोना भाइरस–२०१९ (कोभिड–१९) को महामारीको असरका कारण विश्वभरिकै पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको छ । त्यसमा नेपालको पर्यटन मात्रै अछुतो रहने कुरो भएन ।

यसरी हेर्दा सन् २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिइएको भए तापनि २ लाख २० हजारमै (किनभने, डिसेम्बरमा खासै धेरै विदेशी आउलान् जस्तो छैन) चित्त बुझाउनुपर्ने देखिन्छ । कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्