RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/८ गते
१६७७ पटक

हाल नेकपा विभाजनको एक मुख्य चुरो कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पनि हो । कर्णाली नेकपामा प्रचण्ड–नेपाल समूह स्पष्ट बहुमतमा देखिएको छ । प्रदेशका १० जिल्लामध्ये प्रचण्डनिकटस्थ चार र नेपालनिकटका दुई जिल्ला अध्यक्ष छन् ।

जुम्लाका वीरबहादुर कुँवर, रुकुम पश्चिमका गोपाल शर्मा, हुम्लाका लालकेश जैशी र मुगुका सुरवीर बुढा प्रचण्डनिकटस्थ हुन् । सुर्खेतका ध्रुव शाही र डोल्पाका दत्तबहादुर रोकाया नेपालनिकट हुन् । प्रधानमन्त्री ओलीको समूहमा दैलेखका रवीन्द्र शर्मा र सल्यानका गोविन्द पुन मात्र छन् । जाजरकोटका ढकवीर राना र कालिकोटका धनजित शाही गृहमन्त्री बादलको समूहका हुन् ।

जिल्ला सचिवमध्ये प्रचण्ड–नेपाल समूहमा सुर्खेतका कृष्णबहादुर जिसी, सल्यानका कर्णबहादुर बुढाथोकी, डोल्पाका मालबहादुर रोकाय, दैलेखका प्रेम कटुवाल, जाजरकोटका करवीर शाही, जुम्लाका तीर्थबहादुर बुढा, मुगुका धर्मबहादुर शाही र रुकुमपश्चिमका विमल पुन छन् । ओली समूहमा कालिकोटका नागिन्द्र शाही र हुम्लाका दल रावल छन् ।

कर्णाली प्रदेश सभामा ४० मध्ये नेकपाका ३३ सांसद छन् । तीमध्ये प्रचण्डनिकट १० र नेपालनिकट आठ गरी १८ जना प्रचण्ड–नेपाल समूहका छन् । ओली समूहका १२ र बादलनिकटका तीन सांसद छन् ।

बादल समूहका तीनै सांसदले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भनेका छन् । त्यसैले उनीहरूसहित प्रचण्ड–नेपाल समूहमा २१ सांसद देखिएका छन् ।

र, प्रचण्ड–नेपाल समूह स्पष्ट बहुमतमा देखिएको छ । ‘बादलजी ओलीसँग सती जानुभयो भन्दैमा हामी पनि सती जान तयार छैनौँ,’ एक सांसदले भने । दुवै समूहमा स्पष्ट बहुमत नभएकाले सरकार गठन गर्न ६ सांसद रहेको कांग्रेसको समर्थन अनिवार्य देखिएको छ ।

कर्णालीमा प्रधानमन्त्री ओली गुटको नेतृत्व नेकपा कर्णाली प्रदेश सह–इन्चार्ज तथा प्रदेशसभा सदस्य यामलाल कँडेलले गरेका छन् । नेपाल समूहको नेतृत्व केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले गरिरहेका छन् ।

यस्तै, बादल समूहको नेतृत्व कर्णाली सचिव तथा राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले गर्छन् । प्रचण्ड समूहको नेतृत्वमा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत छन् ।

नयाँ पत्रिका दैनिकबाट…………………..

प्रतिकृया दिनुहोस्