RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/१० गते
५१५ पटक

मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको पाइपलाइन विस्तारमा अहिलेसम्म ७० प्रतिशत खर्च भएको छ । पहिलो चरणको आयोजनाका लागि करिब साढे २६ अर्ब रुपैयाँ लागत रहेकोमा पाइपलाइन बिस्तारमा भने अहिलेसम्म ७० प्रतिशतमात्रै खर्च भएको छ ।

कूल लागतमध्ये ७० प्रतिशत एशियाली विकास बैंकले ऋण उपलब्ध गराएको थियो भने बाँकी ३० प्रतिशत नेपाल सरकारले लगानी गरेको हो । मेलम्ची खानेपानी उपआयोजना–२ निर्देशनालयले एक हजार १० किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्नेमा करिव १ हजार किलोमिटर पाइपलाइनको काम सम्पन्न गरेको छ । मेलम्चीको पानी घरघरमा वितरण गर्ने पाइपलाइन विस्तार तथा मर्मत गरी तयारी अन्तिम अवस्थामा पुगेको निर्देशनालयले बताएको छ ।

खानेपानी मन्त्रालयका अनुसार मेलम्चीको पानी उपत्यकामा आइसकेपछि नयाँ पाइपलाइन र पुरानै वितरण प्रणालीबाट तत्कालका लागि पानी वितरण गर्ने तयारी छ । मेलम्चीबाट सुरुङमार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई उपत्यकाका विभिन्न स्थानमा वितरणको व्यवस्थापन तयारी अवस्थामा रहेको निर्देशनालयको भनाइ छ । अब बाँकी काम सम्पन्न हुने चरणमा रहेको निर्देशनालयले बताएको छ ।
निर्देशनालयका अनुसार थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५.५ किमी सम्पन्न भइसकेको र थोक वितरण प्रणालीको परीक्षण पनि सकिएको छ ।

आयोजना कार्यान्यन निर्देशनालय (पीआईडी) का प्रमुख कमलराज श्रेष्ठले हालसम्म ७० प्रतिशत खर्च भएको जानकारी दिए । “चक्रपथभित्रको वितरण प्रणाली पहिलो चरणमा सम्पन्न गरिएको छ र दोस्रो चरणको वितरण प्रणालीअन्तर्गत चक्रपथ बाहिरको क्षेत्रमा काम हुन्छ,” उनले भने, “पहिलो चरणमा २६५ मिलियन लागत छुट्याइएको थियो, हालसम्म जम्मा लागतको ७० प्रतिशत खर्च भइसकेको छ, दोस्रो चरणको वितरण प्रणालीका लागि पनि सम्झौता भइसकेको छ ।”

उनका अनुसार चक्रपथ बाहिरको क्षेत्रलाई यांग्री र लार्के खोलाको पानी थप हुँदासम्म पाइपलाइन विस्तार गर्ने र मेलम्चीको पानी आउनासाथ पानी वितरण गर्न सकिने अवस्थामा हुुन्छ । मेलम्चीबाट सुरुङमार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई उपत्यकाका विभिन्न स्थानमा वितरणको व्यवस्थापन तयारी अवस्थामा रहेको उनको भनाइ छ ।

मेलम्चीको पानी आउनासाथ पानी वितरण गर्न सकिने अवस्थामा रहेको उनले बताए । पुरानो वितरण प्रणाली मर्मत गरी तयारी अवस्थामा राखिएकाले हालकै अवस्थामा मेलम्चीको पानी वितरण गर्न सकिने उनको भनाइ छ । “मेलम्ची आएपछि ६ महिनाको समय टेस्टिङमा लाग्ने छ, मेलम्चीको १७ करोड लिटर पानीमध्ये, टेस्टिङका लागि २ करोड नयाँ पाइपलाइनबाट र अरु केयूकेएलको पुरानो पाइपलाइनबाट वितरण गरिने छ,” श्रेष्ठले भने ।

कारोबार दैनिकबाट…………….

प्रतिकृया दिनुहोस्