RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/१२ गते
५६० पटक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनपछिको परिस्थिति आकलन गर्न चिनियाँ कम्युनिस्ट पार्टीको चार सदस्यीय प्रतिनिधिमण्डल आइतबार काठमाडौं आउँदै छ । अन्तर्राष्ट्रिय समन्वय विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वको प्रतिनिधिमण्डल चार दिन नेपालमा रहनेछ ।

उपमन्त्री गुओ राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा संसद् विघटन गरेपछि नेपाल आउने पहिलो विदेशी अधिकारी हुन् । उनको टोलीले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपाका दुवै खेमाको नेतृत्व र कांग्रेसका शीर्ष नेतासँग भेट्ने कार्यक्रम छ । यद्यपि, भेटवार्ताको कार्यतालिका शनिबारसम्म सार्वजनिक भएको छैन ।

नेकपाका अध्यक्षद्वय प्रचण्ड–माधव नेपाल समूहको विदेश विभाग उपप्रमुख विष्णु रिजालले चिनियाँ दूतावासले नेता गुओको भ्रमणबारे जानकारी गराएको बताए । ‘चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल आइतबार आउने जानकारी आएको छ । उहाँहरूले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग भेटवार्ता गर्ने कार्यक्रम छ,’ उनले भने ।

चिनियाँ राजदूत होउ यान्छीले शुक्रबार अध्यक्ष नेपाल र नेता कृष्णबहादुर महरा तथा बिहीबार अध्यक्ष प्रचण्ड र नेता वर्षमान पुनलाई भेटेर छलफल गरेकी थिइन् । चिनियाँ कूटनीतिक स्रोतका अनुसार प्रतिनिधिसभा विघटनका कारण नेपालमा उत्पन्न परिस्थितिको नजिकबाट अध्ययनका लागि चिनियाँ नेता आउन लागेका हुन् ।

आइतबार आउन लागेका नेता गुओ ८ फागुन ०७४ मा पनि नेपालमा थिए । एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनले बलियो बहुमत पाएपछि ३ फागुन ०७४ मा ओली प्रधानमन्त्री भएलगत्तै उनी आएका थिए । गुओको भ्रमण भएको तीन महिनापछि ५ जेठ ०७५ मा एमाले र माओवादीबीच एकीकरण भएको थियो । नयाँ पत्रिका दैनिकबाट 

प्रतिकृया दिनुहोस्