RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/१३ गते
५७५ पटक

काठमाडौं । संसद् विघटन गरेर मध्यावधि निर्वाचन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक भनेको कांग्रेसले आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको हो ।

आज हुने देशव्यापी प्रदर्शनमा सहभागी हुन सभापति शेरबहादुर देउवाले नेता-कार्यकर्तासहित सबैमा अपिल गरेका छन् । देउवाले शनिबार अपिल जारी गर्दै १ सय ६५ वटै निर्वाचन क्षेत्रमा हुने प्रदर्शनमा सहभागी हुन नेता-कार्यकर्तासहित शुभचिन्तक तथा लोकतन्त्र पक्षधर सबैलाई आग्रह गरेका हुन् ।

अपिलमा देउवाले संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावनाविपरितको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रूपले एकमतसाथ उभिएको दाबीसमेत गरेका छन् । कांग्रेसले गत बिहीबार बसेको केन्द्रीय समिति बैठकबाट १३ पुसमा १ सय ६५ वटै प्रतिनिधि सभातर्फका निर्वाचन क्षेत्रमा संसद् विघटनविरुद्ध बिरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

कांग्रेसले सरकारले संसद् विघटनको निर्णय लिएलगत्तै पदाधिकारी बैठक डाकेर प्रतिनिधिसभा विघटनलाई ‘असंवैधानिक र अलोकतान्त्रिक’ कदम भनेको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीसँगै संसद् विघटनको पक्षमा उभिएको भन्ने आशंका उनले व्यहोर्दै आइरहेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले भक्तपुरमा हुने सभालाई सम्बोधन गर्ने भएका छन् । कार्यव्यस्तताका कारण गृहजिल्ला डडेल्धुरा नगएका देउवाले भक्तपुरमा सम्बोधन गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले भने तनहुँस्थित आफ्नै निर्वाचन क्षेत्रमा सम्बोधन गर्ने कार्यक्रम छ । प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वरमा र युवा नेता गगन थापाले नेपालगञ्जमा हुने सभालाई सम्बोधन गर्ने भएका छन् । अन्य नेताहरुले भने आ-आफ्नो निर्वाचन क्षेत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

प्रतिकृया दिनुहोस्