RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/१४ गते
६२० पटक

कोरोना भाइरसको नयाँ स्वरूप देखिन थालेपछि खाडीलगायतका मुलुकहरूले अन्तर्राष्ट्रिय उडान रोक्न थालेका छन् । नेपाली श्रमिकहरूको मुख्य गन्तव्य मानिएको साउदी अरब, ओमान र कुवेतले केही समयका लागि अन्तर्राष्ट्रिय उडान रोकिसकेका छन् ।

त्यस्तै, खाडीका अन्य मुलुकहरूले पनि उडान रोक्ने तयारी गरिरहेको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । संघका सचिव मेघनाथ भुर्तेलका अनुसार कतारबाहेक मलेसिया र खाडीका मुलुकहरूले उडान रोक्ने विषयमा छलफल गरिरहेका छन् । अन्तर्राष्ट्रिय उडान बन्द हुन थालेपछि वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरू पुनः प्रभावित हुने उनको भनाइ छ ।

प्रतिबन्ध लम्बिए नेपाली श्रमिक प्रभावित हुने

नयाँ भाइरसका कारण खाडी मुलुकहरूले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध थपिए नेपाली श्रमिकहरू प्रभावित हुने कुवेतका लागि नेपाली राजदूत डा. दुर्गाप्रसाद भण्डारीले बताए । ‘पहिलो चरणमा १० दिन उडान रोकिएको सूचना आएको छ । प्रतिबन्ध थपिन पनि सक्ने देखिएको छ । यदि यो प्रतिबन्ध लम्बियो भने नेपाली श्रमिक प्रभावित हुनेछन्,’ उनले भने ।

कुवेत सरकारले श्रमिकका लागि भिसा रोकेको भए पनि बिदामा रहेका श्रमिकहरूलाई कुवेत प्रवेशका लागि भने खुला गरेको छ । हाल कुवेतबाट जजिरा एयरलाइन्सले नेपालका लागि सातामा तीनवटा उडान भर्दै आएको छ । तर, नेपालबाट भने एयरलाइन्सले यात्रु लैजान रोक लगाएको छ ।

एयरलाइन्सले सातामा औसतमा ३ देखि ४ सय नेपाली श्रमिक कुवेतदेखि नेपालमा उडाउने गरेको राजदूत भण्डारीले बताए । तर, छुट्टीमा नेपाल आएका श्रमिकहरू भने युएई ट्रान्जिट हुँदै कुवेत पुग्ने गरेको उनले बताए ।

त्यस्तै, साउदी सरकारले पनि अर्को एक साता प्रतिबन्ध लम्ब्याउन सक्ने साउदीका लागि नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंहले बताए । उनका अनुसार साउदी सरकारले पठाएको पत्रमा नै थप एक साता लम्बिन सक्ने उल्लेख छ ।

‘साउदी आउने वा नेपाल जाने कति श्रमिकले जहाजको टिकट लिइसकेका होलान् । उनीहरू प्रभावित हुने भए,’ उनले भने । हाल हिमालय एयरलाइन्सले साउदीमा दैनिक उडान भर्दै आइरहेको छ । खाडी मुलुकहरूले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध थपिए नेपालको वैदेशिक रोजगार व्यवसाय धराशायी हुने वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेलले बताए ।

‘कोरोनाविरुद्धको भ्याक्सिनले व्यवसायमा आशा जगाएको थियो,’ उनले भने, ‘तर, नयाँ भाइरसले पुनः निरुत्साहित बनाएको छ । यदि प्रतिबन्ध लम्बिने हो भने व्यवसाय नै विस्थापित हुने निश्चित छ ।’

२० हजारभन्दा बढीले लिए श्रम स्वीकृति

चालू आर्थिक वर्ष ०७७÷७८ को पहिलो चार महिनामा २० हजार ५ सय ७० ले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । विभागका अनुसार सो अवधिमा ३ हजार ४ सय ६३ ले नयाँ श्रम स्वीकृति लिएका छन् । कात्तिक महिनामा ७ हजार ७ सय ९७ ले श्रम स्वीकृति लिएका छन् । असोजमा ८ हजार ९७, भदौमा १ हजार ५ सय २५ र साउन महिनामा ३ हजार १ सय ५१ ले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।

कात्तिक महिनामा साउदी अरबका लागि २ हजार ३ सय ६२ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै, ओमानका लागि १ सय ४५, कुवेतका लागि १ सय ७, मलेसियाका लागि १ सय ९, युएईका लागि १ हजार १ सय ७४, बहराइनका  लागि ८१ र कतारका लागि ३ हजार ९० जनाले श्रम स्वीकृति लिएका छन् । असोज महिनामा भने मलेसियाका लागि १ सय ३, युएईका लागि ४, साउदीका लागि २ हजार ८ सय ३१, कुवेतका लागि १ सय ३, ओमानका लागि १ सय ६, बहराइनका लागि १ सय १३ र कतारका लागि १ हजार ३ सय ५१ जनाले श्रम स्वीकृति लिएका छन् ।

महामारीका रूपमा कोरोना भाइरस फैलन थालेपछि गत फागुन अन्तिमदेखि नेपालले श्रम स्वीकृतिमा रोक लगाएको थियो । करिब ६ महिनापछि भने गत १४ भदौदेखि संस्थागत श्रम स्वीकृतिलाई सरकारले खुला गरेको थियो ।

सरकारले श्रम स्वीकृति खुला गरे पनि सम्बन्धित मुलुकका नियोगहरूले नयाँ भिसाका लागि प्रमाणीकरण भने रोकेका छन् । मलेसियासहित खाडी मुलुकमा करिब २० लाख नेपाली श्रमिक रहेको अनुमान छ । वैदेशिक रोजगार व्यवसायी संघको गत वर्षको तथ्यांकअनुसार कतारमा साढे ४ लाख, साउदीमा ५ लाख, कुवेतमा ७० हजार, ओमानमा ३० हजार, बहराइनमा २८ हजार, दुबईमा ४ लाख, मलेसियामा साढे ४ लाख नेपाली श्रमिक छन् ।

१० दिनसम्म उडान प्रतिबन्ध

ओमानले २२ डिसेम्बरदेखि २९ डिसेम्बरसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको छ । विश्वका केही मुलुकमा नयाँ स्वरूपको कोरोना भाइरस फेला परेको भन्दै ओमानको सर्वोच्च कमिटीले एक साता अन्तर्राष्ट्रिय उडान बन्द गरेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले बताइन् ।

त्यस्तै, कुवेतले पनि १० दिन सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । कुवेतले गत २२ डिसेम्बरदेखि जनवरी १ तारिखसम्मका लागि सबै खालका अन्तर्राष्ट्रिय उडान बन्द गरेको कुवेतका लागि नेपाली राजदूत डा. दुर्गाप्रसाद भण्डारीले बताए ।

‘सम्भवतः कोरोनाको नयाँ भाइरसका कारण उडान बन्द गरिएको हुनुपर्छ । तर, कुवेत सरकारले पठाएको पत्रमा भने निश्चित कारण स्पष्ट पारिएको छैन,’ उनले भने । कुवेत सरकारले अहिले १ जनवरी २०२१ सम्मका लागि उडान बन्द गरेको छ । यो प्रतिबन्ध अझ लम्बिन पनि सक्ने उनले बताए । तर, २७ तारिखदेखि भने साउदीले एकतर्फी बाटो खुलाएको छ । साउदीबाट बाहिरिन चाहनेका लागि हवाई उडान खुला गरिदिएको छ, तर साउदीभित्र प्रवेश गर्नका लागि भने रोक लगाएको छ  ।

साउदी अरबले पनि २१ डिसेम्बरदेखि २७ सम्म अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट हुने आवागमन रोकेको थियो । बेलायतमा देखिएको नयाँ भाइरसका कारण अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध गरेको साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंहले बताए । यसैगरी, साउदी सरकारले ५० जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुनसमेत प्रतिबन्ध लगाएको छ । आदेश उल्लंघन गर्नेविरुद्ध १५ हजार रियाल (४ लाख ७० हजार रुपैयाँ) सम्म जरिवाना हुनेसमेत जनाएको छ ।

जापानस्थित कोरोना व्यवस्थापन केन्द्रले समेत विदेशी नागरिकलाई जापान प्रवेशमा रोक लगाउने निर्णय गरेको वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेलले बताए । कतारस्थित नेपाली राजदूतावासले पनि नयाँ भारइसबाट सचेत रहन नेपाली श्रमिकका लागि सूचना नै जारी गरेको छ ।

दूतावासले सोमबार एक सूचना जारी गर्दै नयाँ भाइरसको संक्रमणबाट बच्न कतार सरकारद्वारा अवलम्बन गरिएका निरोधात्मक उपायहरू पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ । कतार सरकारले अनावश्यक भिडभाड नगर्न, मास्कको अनिवार्य प्रयोग गर्न, वेला–वेलामा

साबुनपानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न सबैलाई आग्रह गरेको छ । नेपाल सरकारले पनि बेलायत हुँदै नेपाल आउने सबै उडानलाई रोक लगाएको छ । कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै बेलायतबाट सुरु उडान वा ट्रान्जिट भई नेपाल आउने उडानलाई अर्को सूचना नभएसम्मका लागि रोक लगाइएको छ । नयाँ पत्रिका दैनिकबाट 

प्रतिकृया दिनुहोस्