RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/१५ गते
५४१ पटक

कोभिड– १९ को संक्रमणदर ११ महिनापछि ओरालो लागेको छ । परीक्षण कम भए पनि पजिटिभ देखिने दर र अस्पतालमा भर्ना हुने संख्या न्यून हुँदै गएपछि विज्ञहरूले नेपालमा कोभिडको पहिलो ‘वेभ’ सकिन थालेको बताएका छन् । तर, दोस्रो ‘वेभ’को उच्च जोखिम रहेको उनीहरूको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार २६ मंसिरयता संक्रमण घटदै गएको छ । त्यसयता दैनिक एक हजारभन्दा बढी संक्रमित देखिएका छैनन् । मन्त्रालयका अनुसार विगतमा परीक्षणको ३३ प्रतिशतसम्म पुगेको संक्रमणदर अहिले ११ प्रतिशतमा झरेको छ । ६ कात्तिकमा ४७ हजार सात सय पुगेका सक्रिय संक्रमित घटेर मंगलबार ६ हजार तीन सय ९६ मात्रै छन् ।

संक्रमणबाट मृत्यु हुनेको संख्या पनि घटिरहेको छ । करिब ९८ प्रतिशत मृत्यु अस्पतालमा र दुई प्रतिशत मात्रै अस्पतालबाहिर भएको छ । संक्रमणबाट हालसम्म एक हजार आठ सय ४० जनाको अर्थात् कुल संक्रमितको ०.७ प्रतिशतको मृत्यु भएको छ । सरकारले यसलाई संक्रमणपछिको उपचार पनि सन्तोषजनक भएको दाबी गरेको छ ।

भाइरसविज्ञ डाक्टर सन्तोष दुलालका अनुसार नेपालमा संक्रमणको पहिलो ‘वेभ’ अन्तिम चरणमा पुगेको छ । ‘पहिलो वेभबाट छुटकारा पाउने अवस्थामा पुगे पनि दोस्रो ‘वेभ’को उच्च जोखिम छ । त्यसैले सतर्कता कायमै राख्नुपर्छ,’ उनले भने । कतिपय मानिस परीक्षण गराउनै नगएको भए पनि सामान्यतया संक्रमण घट्दै गएको उनको भनाइ छ ।

स्वास्थ्य मन्त्रालय पनि दोस्रो ‘वेभ’ नियन्त्रणको पूर्वतयारीमा जुट्न थालेको छ । ‘पहिला ‘वेभ’ नियन्त्रणमा आउन लागेको भए पनि दोस्रो ‘वेभ’को जोखिम उत्तिकै छ । दोस्रो ‘वेभ’ आउन नदिन र आइहाले त्यसको व्यवस्थापन गर्न आवश्यक तयारीका कामहरू थालेका छौँ,’ स्वास्थ्यसचिव लक्ष्मण अर्यालले भने । उनका अनुसार पछिल्लो समय पाँच सय आइसियू र अक्सिजनजडित दुई हजार बेड थप्ने तयारी भएको छ । ‘यी काम सम्पन्न भए दोस्रो ‘वेभ’ आएको खण्डमा क्रिटिकल केयर व्यवस्थापनमा प्रभावकारिता देखाउन सक्छौँ,’ उनले भने ।

नयाँ पत्रिका दैनिकबाट…………..

प्रतिकृया दिनुहोस्