RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२६ गते
१९५ पटक

काठमाडौं :   पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको वर्त शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज वर्त समापन गर्न लागेका हुन्।

त्यसैदिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ।  विधिपूर्वक एक महिने वर्त गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई वर्तको कामना पूर्णहोस् भनी भगवतीलाई अघ्र्य दिइन्छ।

आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ। स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी वर्त कथामा उल्लेख गरिएको छ।

यस्ती देवीको विधिपूर्वक वर्त गरेमा बिछोड भएका जोडीको पुनः मिलन हुन्छ भन्ने विश्वास छ । रोगव्याधि लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको वर्त गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ।

आइतबार मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई वर्त समापन गरी रात्रिमा जाग्राम बसी सोमबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी वर्त समापन हुने विधि रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले बताए।

प्रतिकृया दिनुहोस्