RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२९ गते
७७४ पटक

काठमाडौँ, माघ २९ गते । दैलेख क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको छ । विगत चार महिनादेखि सुरु गरिएको अन्वेषणले सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ ।

परियोजनाका प्रमुख सुधीर रजौरेले पेट्रोलियम अन्वेषण तथा प्रवद्र्धन परियोजनाले पछिल्लो समय गरेका भौगर्भिक तथा अन्वेषणको परिणामले यस क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको सुनिश्चित भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दैलेख क्षेत्रमा पाइएको कच्चा तेल र निरन्तर बलिरहेको ग्यासले सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको सम्भावना यसअघि नै प्रबल थियो तर अहिले भइरहेको अध्ययन र अन्वेषणले सो सम्भावनालाई सुनिश्चितता प्रदान गरेको छ ।”

अहिलेको अध्ययनका क्रममा सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको केही वैज्ञानिक प्रमाण (इभिडेन्सेज) र आधारहरू फेला परे पनि राष्ट्रिय हित र गोपनीयताका कारण त्यसलाई सार्वजनिक गर्न नमिल्ने उहाँले स्पष्ट पार्नुभयो ।

“अहिले भइरहेको अध्ययन परिणामले नेपालको क्षेत्रमा पेट्रोलियम पदार्थ छ भन्ने आधारलाई सुनिश्चितता प्रदान गरेको छ, पेट्रोलियम पदार्थ छ छैन भने द्विविधाको अन्त्य भएको छ,” उहाँले भन्नुभयो,

“दैलेख क्षेत्रमा पेट्रोलियम पदार्थ रहेकोमा अब कुनै शङ्का गर्ने ठाउँ रहेनन्, अबको खोज, अध्ययन र अनुसन्धान पेट्रोलियम पदार्थको परिमाण र क्षेत्रका लागि मात्र हो ।” अहिलेसम्मको परिणामले यस क्षेत्रमा थप काम गर्न उत्साहित बनाएको उहाँले बताउनुभयो ।गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्