RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/७ गते
१०४० पटक

बाराको सिमरा ४ स्थित मसानघाट प्लटिङबारेको समाचार कारोबार दैनिकमा प्रकाशित भएपछि अख्तियारको टोलीले छानविन र अनुसन्धान सुरु गरेको छ ।

मसानघाटको सार्वजनिक जग्गा किर्ते गरेर भू–माफिया तथा केही जग्गा कारोबारीले भोगचलन गरेको समाचार सार्वजनिक भएपछि अख्तियारको टोलीले सम्बन्धित निकाय र स्थलगत अनुसन्धान सुरु गरेको हो ।
साविक पिपरासिमरा गाविस हाल जितपुरसिमरा उप–महानगरपालिका–४ को कित्ता नं ५९ को मसानघाटको ६ विघा ८ कठ्ठा सार्वजनिक जग्गा किर्ते तथा जालसाजी गरेर केही भूमाफिया र जग्गा कारोवारीहरुले भोगचलन गरिरहेको समाचार कारोबारमा आएपछि अख्तियारले मसानघाटमै पुगेर अनुसन्धान सुरु गरेको छ ।
चौतफी रुपमा दबाब बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित सार्वजनिक र गुठी जग्गा संरक्षण आयोग, जिल्ला प्रशासन कार्यालय बारा, जीतपुरसिमरा उप–महानगरपालिका र सम्बन्धित वडाले मसानघाटको सार्वजनिक जग्गा व्यक्तिको नाममा श्रेस्ता कायम भएको बारे खोजबिन तिब्र बनाएपछि प्रोपटी म्यानेजमेन्ट लगायतका व्यक्ति अनुसन्धानको दायरामा आउने भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले मालपोत र नापी कार्यालय सिमराबाट सो जग्गासँग सम्बन्धित आवश्यक कागजपत्रसहित मसानघाटको स्थलगत अनुगमन गरेको छ । आयोगले जग्गाको प्रारम्भिक अनुसन्धानको क्रममा रहेको र २०२१ सालको नापीमा मसानघाट भनी उल्लेख भएको जग्गा के आधारमा व्यक्तिको नाममा श्रेस्ता कायम गरे, त्यो विषयमा आयोगले खोजबिन तिब्र बनाउने जनाएको छ ।
मसानघाटको स्थलगत अनुगमनमा आएका अख्तियारका एक अधिकारीले मसानघाटको ६ बिघा ८ कठ्ठा सार्वजनिक जग्गा २०४७ साउन ३० गते रामचन्द्र गौतमले जालशाजी गरेर फरदवा गुठीको माध्यमबाट आफ्नो नाममा पुर्जा बनाएको अनुसन्धानको क्रममा भेटिएको र हालसम्म उक्त जग्गामा प्रोपटी म्यानेजमेन्टका सञ्चालक इच्छाबहादुर वाग्लेसहित ६४ जनाको सहभागिता देखिएको बताए ।
२०४७ सालमा गौतमले किर्ते गरेको सो जग्गा दोस्रो, तेस्रो चरणमा २०७१ सालपछि सो जग्गा सिमराका इच्छाबहादुर वाग्ले र उनी सञ्चालक रहेको प्रोपटी म्यानेजमेन्टको, केही उद्योगी तथा सर्वसाधारणको नाममा पुर्जा बनेको अनुसन्धानको क्रममा भेटिएको छ । मसानघाटको सार्वजनिक जग्गा प्लटिङ गरेर बेचबिखन भएको समाचार सार्वजनिक भएपछि सरकारी निकाए मसानघाटमा केन्द्रीय भएको छ ।कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्