RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१३ गते
१६०० पटक

मुलुकमा उत्पादन नै नहुने पाम आयल र भटमासको तेल निर्यातले वैदेशिक व्यापारमा सातौं महिना पनि सुधार देखिएको छ । चालू आर्थिक वर्षको सात महिनामा निर्यात २२.४१ प्रतिशतले बढेर झन्डै ६५ अर्ब रुपैयाँको निर्यात भएको छ भने आायत ३.६ प्रतिशतले घटेको छ ।

यस्तै, कुल व्यापारघाटामा पनि गत वर्षको सोही अवधिभन्दा ५.३३ प्रतिशतले सुधार देखिएको छ । आयातमा कमी र निर्यातमा आएको सुधारले मुलुकको व्यापारघाटामा समेत कमी आएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सात महिनामा ६४ अर्ब ९७ करोड ७१ लाख रुपैया बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ५३ अर्ब ७ करोड ८७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । पाम आयल र भटमासको तेल निर्यातमा उलेख्य वृद्धि आएकाले निर्यातमा सुधार आएको हो ।

यस अवधिमा सबैभन्दा धेरै १३ अर्ब ८९ करोड ६८अर्ब १४ हजार रुपैयाँ बराबरको पाम आयल निर्यात भएको छ । भारतले केही समय पाम आयल निर्यातमा प्रतिवन्ध लगाएकाले सात महिनामा खासै निर्यात भने बढ्न सकेको छैन । ६ महिनाकै हाराहारीमा पाम आयल निर्यात भएको तथ्यांक छ । यस्तै ५ अर्ब ९४ करोड ६१ लाख ३० हजार रुपैयाँको भटमासको तेल निर्यात भएको विभागको तथ्यांक छ ।

विभागका अनुसार १ अर्ब ६७ करोड ९२ लाख ८४ हजार रुपैयाँको चिया निर्यात भएको छ । १ अर्ब ४६ करोड ५० लाख ९ हजार रुपैयाँको अलैची र दुई अर्ब ४९ लाख ४४ हजार रुपैयाँको अदुवा निर्यात भएको तथ्यांक छ । पूर्वसचिव पुरुषोत्तम ओझा पाम आयलको निर्यात बढेकाले निर्यातमा सुधार देखिएको बताउँछन् ।

पाम आयल निर्यात बढाउनका लागि दिर्घकालिन नभएर स्वदेशमै उत्पादन हुने वस्तुको उत्पदन बढाएर निर्यातमा जोड दिनुपर्ने उनको भनाइ छ ।व्यवसायीले थाइल्याण्ड, इन्डोनेसिया, मलेसिया लगायतका मुलुकबाट पाम आयलको कच्चा पदार्थ ल्याएर नेपालमा केही मूल्य अभिवृद्धि गरेर भारत पठाउँदा त्यसमा भन्सार छुटको व्यवस्था छ ।कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्