RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१३ गते
७०१ पटक

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा कार्यकतालाई पार्टीको १४औं महाधिवेशनले छोपेको छ। पुस १३ गतेको केन्द्रीय समिति बैठकले १४औं महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म गर्नेगरी कार्यतालिका सार्वजनिक गरेपछि केन्द्रदेखि गाउँसम्मका नेताकार्यकर्ताको ध्यान त्यसतर्फ केन्द्रित भएको हो।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयपछिको दुई वर्षमा पनि संगठन सुदृढीकरणभन्दा आन्तरिक राजनीतिमै कांग्रेसका नेताहरूको ध्यान केन्द्रित बन्न पुगेको छ। त्यसमा पनि महाधिवेशनको मितिसँगै तल्लो तहका अधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि सबै तहका नेताहरूको ध्यान नेतृत्वमा पुग्न केन्द्रित भएको छ। गुट–उपगुटमा विभक्त कांग्रेसमा केन्द्रदेखि गाउँसम्म ध्रुवीकरण सुरु भएको छ।

नीतिभन्दा नेता केन्द्रित कांग्रेसको १४औं महाधिवेशनबाट पार्टीको नेतृत्वमा आमूल परिवर्तन गर्नुपर्ने आवाज तीव्र बन्दै गएको छ भने दोस्रो पुस्ताले पनि नेतृत्वका लागि आफूलाई फरक ढंगले प्रस्तुत गर्न नसकेको गुनासो पनि उत्तिकै छ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँगको प्रतिस्पर्धा दाइ पुस्ता (शेरबहादुर देउवा र रामचन्द्र पौडेल) बाट सम्भव नभएको भन्दै मीनेन्द्र रिजाल, गगनकुमार थापासहितले अघिल्लो पुस्ताले सम्मानजनक तर स्वेच्छिक अवकाश लिनुपर्ने बताउँदै आएका छन्।

१३औं महाधिवेशनमा नेतृत्वका लागि आमनेसामने भएका देउवा र पौडेलले आगामी महाधिवेशनबाट विश्राम लेलान् त ? कांग्रेसका धेरै नेताहरूको बुझाइ त्यस्तो छैन। बरु अस्वाभाविक परिस्थितिबाहेक आगामी महाधिवेशनमा पनि नेतृत्वका लागि उनीहरू दुईबीच नै मुख्य प्रतिस्पर्धा हुन सक्ने विश्लेषण छ। आगामी महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा नउत्रन निकटहरूले सुझाए पनि नेतृत्वमा टिकिराख्न र नेतृत्वमा पुग्न देउवा र पौडेल दुवैले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्नो सक्रियता बढाएको नेताहरू बताउँछन्।नागरिक दैनिकबाट….

प्रतिकृया दिनुहोस्