RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१४ गते
२०५० पटक

इलाम – नेपाली भाषा र वर्णविन्यासबारे विगतमा देखिएको विवाद समाधान भइसकेको नेपाल प्रज्ञाप्रतिष्ठानले दाबी गरेको छ। बृहत् नेपाली शब्दकोषको दसौं संस्करणमा सबैको सहमति रहेकाले लामो समयदेखिको विवाद अन्त्य भएको प्रतिष्ठानको भनाइ छ।

नेपाली बृहत् शब्दकोषको दसौं संस्करणअनुसार वर्णविन्यास प्रयोग गर्न सबैको सहमति रहेको प्रतिष्ठान सदस्य प्रा.डा. हेमनाथ पौडेलले बताए। ‘शब्दकोषको दसौं संस्करण आइसकेको छ,’ सदरमुकाममा मंगलबार आयोजित कार्यक्रममा उनले भने, ‘वर्णविन्यासबारे मतान्तर थियो, दसौं संस्करणको शब्दकोषमा सबैको सहमति भएको छ। विवाद अन्त्य भएको छ।’ उनले करिब ३ महिनाभित्र शब्दकोषको मोबाइल एप्लिकेसन पनि आउने बताए। उनका अनुसार अंग्रेजी शब्दमा जस्तै नेपाली शब्दको पनि कम्प्युटरमा हिज्जे जाँच गर्ने प्रणाली विकास गरिँदैछ।

प्रतिष्ठानले सातै प्रदेशमा भाषा र साहित्यको बृहत् अनुसन्धान परियोजना सञ्चालन गर्न लागेको छ। ‘प्रतिष्ठानले सबै प्रदेशको भाषा, साहित्यको प्रोफाइल तयार गर्न लागेको छ,’ उनले भने, ‘नेपाली साहित्यको विधागत इतिहासबारे पनि अध्ययन हुनेछ।’

सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको नेपाली विभागले आयोजना गरेको ‘वर्तमान समयमा नेपाली साहित्यको विकास र प्रवृत्ति’ विषयक अन्तरक्रियामा प्रतिष्ठानका कुलपति प्रा.डा. गंगाप्रसाद उप्रेतीले राजनीतिले व्यवस्था र साहित्यले संस्कृति बदल्नुपर्ने बताए। संस्कृति नबदलिएसम्म राजनीतिक परिवर्तनको अर्थ नरहने उनको भनाइ थियो।नागरिक दैनिकबाट …

प्रतिकृया दिनुहोस्