RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१५ गते
९९० पटक

बाजुरा- लक्ष्मी माध्यमिक विद्यालय जिल्लीमा माध्यमिक तहको नेपाली विषय पढाइ नभएको ७ महिना बित्योे। विद्यालयका प्रअसमेत रहेका नेपाली शिक्षक कुष्मराज पण्डित १५ दिनको काज विदा लिएर अमेरिका हिँडेदेखि नेपाली विषय पढाइ भएको छैन। कुनै दिन आलोपालोमा पाठ अभ्यास बाहेक ८ देखि १० सम्मको नेपाली विषय पढाइ नभएको निमित्त प्रधानाध्यापक लालचन्द्र जैशीले स्वीकार गरेका छन्।

पण्डित विद्यालय व्यवस्थापन समिति अध्यक्ष झुमा खत्री काठमाडौं गएको बेला सदस्यको अध्यक्षतामा बैठक बोलाएर काज मिलाउन लगाएका थिए। अमेरिका बसेर विद्यालयका लागि सहयोग रकमसमेत संकलन गर्ने बचनसहित पण्डित १५ दिनका लागि काज विदामा हिँडे पनि ७ महिनापछि मात्र विद्यालयमा देखिएका छन्।

भदौ ८ गते १५ दिनको काज विदा स्वीकृत गराएर हिँडेका पण्डित फागुन ११ गतेमात्र विद्यालयको सम्पर्कमा आएका छन्। विव्यसले ७ दिनभन्दा बढी काज विदा दिन नमिल्ने र वार्षिक २४ दिन बढी लगातार विदामा बस्न नपाईने प्रावधान छ। तर पण्डितको हकमा त्यो नियम लागू भएन।

शिक्षा विकासको नारालाई बिशेष प्राथमिकता दिएको बताउने बडिमालिका नगरपालिका पनि यसमा मौन छ। श्रोतको दाबी अनुसार उल्टै दुई महिनाको तलब सुविधासमेत दिइसकेको बताइएको छ। आफू अनुकुल विदा बसेर विद्यार्थीको भविष्यमाथि नै खेलवाड गर्ने शिक्षकलाई नगरपालिका र शिक्षा विकास समन्वय इकाई बचाउन लागिपरेको आरोप अभिभावकको छ।

७ महिनासम्म कुनै पाठ नपढेर विद्यार्थी वार्षिक परीक्षाको तयारीमा छन्। जोड्दा १८६ दिनसम्म प्रअ पण्डित विद्यालयमा हाजिर छैनन्। २२० दिन विद्यालय खोल्न पर्ने र १९३ दिन अनिवार्य पढाइ गर्नुपर्ने शिक्षा ऐनमा उल्लेख छ। अस्तव्यस्त अवस्थामा पढाइ हुँदासमेत विव्यसले केही गर्न सकेको छैन।

त्यो मात्र होइन शिक्षा विकास समन्वय इकाईको मावि तहको अंग्रेजी विषय पनि पढाई नभएको डेढ महिना बितेको छ। पारस मणि खत्री माघ १ गतेदेखि नेरामावि जडागांमा राहत कोटामा गएपछि ८ देखि १० कक्षासम्म अंग्रेजी विषयसमेत पढाइ भएको छैन। विद्यालयमा २८२ जना विद्यार्थी अध्ययनरत छन् भने ११ जना शिक्षक कार्यरत छन्।

चैतको पहिलोसाताबाट वार्षिक परीक्षा तय गरिएको छ। नेपालीका कुनै पाठ पढाइ भएका छैनन् भने अंग्रेजी विषयका आधाबढी पाठ पढ्न पाएका छैनन्। किताब नपढेरै भएपनि विद्यार्थी परीक्षा दिन तयारीमा छन्। विद्यालय आउने, अंग्रेजी र नेपालीको विषयमा खाली बस्ने अनि घर फर्किने गरेको विद्यार्थीको गुनासो छ।

वडादेखि शिक्षा कार्यालय र नगरपालिकामा समेत आग्रह गर्दा कुनै सहयोग नभएको विव्यस अध्यक्ष झुमा रोकायाको भनाई छ। मलाइ अमेरिका गएको पनि फोनबाट मात्र जानकारी भएको हो, म काठमाडौं गएको बेला बैठक बोलाएर काज विदा स्वीकृति गरिएको देखिन्छ, मैले कुरा उठाउँदा सुनुवाई नै भएन झुमाले थपिन्।

लक्ष्मी मावि कक्षा ८ सम्म स्वीकृत भएपनि प्रस्तावित माविका रुपमा सञ्चालित छ। नगरपालिकाले नगर शिक्षक राखिए पनि पूरा दरबन्दी हुन सकेको देखिदैन। मावि तहका दुई जना शिक्षक नहुनु र प्रावि दरबन्दीमा रहेकी माया रोकाया सुत्केरी विदामा रहेका कारण पढाइ पूर्ण रुपमा प्रभावित बनेको छ।

नेपाली पढाइ नै भएको छैन, अंग्रेजी आधा बढी पढाइ हुन बाँकी छ, अरु विषयको पनि समस्या उस्तै छ, निमित्त प्रधानाध्यापक लालचन्द्र जैशीले गुनासो गरेका छन्। गुणस्तर खोज्ने तर शिक्षक नियमित नहुने भएपछि अ‍ेपक्षा गरेको उपलब्धि हासिल गर्नु भन्दा उल्टो विद्यार्थीलाई आधारभुत ज्ञानसमेत दिन मुस्कील पर्ने अवस्था लक्ष्मी माविको छ।

जिल्ला शिक्षा विकास समन्वय इकाई प्रमुख गोपाल दत्त जोशीले असाधारण विदा पाउने भएपनि विदा बस्नु पूर्व नै स्वीकृति लिनुपर्ने बताएका छन्। नगरपालिकाका क्षेत्राधिकार बढी भएकोले नगर शिक्षा विकास शाखाको पत्रका आधारमा मात्र समन्वय इकाईले प्रक्रियाअघि बढाउने जोशीको भनाई छ। नागरिक दैनिकबाट …

 

प्रतिकृया दिनुहोस्