RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१६ गते
६७७ पटक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सहभागी हुँदै पार्टीलाई एकजुट राख्ने उद्घोष गरेका छन् ।

नेकपाको बाग्मती प्रदेशस्तरीय प्रशिक्षणमा प्रधानमन्त्री ओलीले सरकारको बचाउ गर्दै पार्टीलाई एकजुट राख्न कुनै कसर बाँकी नराख्ने बताए । अर्का अध्यक्ष दाहालले सानातिना विवादले पार्टी एकतामा कुनै समस्या नपार्ने बताए । उनले विवाद हुँदै जाने र त्यसको समयमै व्यवस्थापन गरी पार्टीलाई झनै ऊर्जावान् र शक्तिशाली बनाइने बताए ।

त्यस्तै, वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई कुनै पनि हालतमा फुट्न नदिने र एकजुट बनाएर लैजाने प्रतिबद्धता जनाए । उनीहरू पार्टीमा देखिएको समस्या समाधान गर्दै एकजुट बनाउनुपर्नेमा सहमत देखिए ।

नेकपाको बुधबार बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन सरकारलाई सिफारिस गरे पनि प्रधानमन्त्री ओलीले पार्टी निर्णय आफूले अस्वीकार गर्ने संकेत गरेपछि पार्टीभित्र विवाद उत्पन्न भएको थियो ।

अर्का अध्यक्ष दाहालले भने पार्टीभित्र आउने यस्ता विषयलाई ठूलो विषय बनाउन नहुने तर्क गर्दै केही असमझदारी भएमा छलफलको माध्यमबाट अघि बढ्न सकिने धारणा राखे । दुवै अध्यक्षले पार्टी सचिवालय बैठकको निर्णयअनुसार नै आ–आफ्नो मोर्चा सम्हालिरहेका छन् । प्रधानमन्त्रीले पार्टीको निर्णय अस्वीकार गर्न नहुने तर्क नेताहरूले गर्दै आएका छन् ।राजधानी दैनिकबाट ….

प्रतिकृया दिनुहोस्