RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१६ गते
९९४ पटक

बैतडी, फागुन १५ गते । बैतडी भ्रमणमा आउनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीले बैतडीको पाटनमा स्थापना भएको भीमदत्त प्राविधिक शिक्षालय (पोलिटेक्निक ईन्स्टिच्युट) को उद्घाटन गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीलाई सुदूरपश्चिमको चर्चित छलिया नाच देखाउँदै दशरथ चन्द नगरपालिका र पाटन नगरपालिकाले नागरिक अभिनन्दनसहित विहीबार मायाको चिनो प्रदान गरेको थियो । राष्ट्रपतिको भ्रमणलाई भव्य स्वागत गर्दै दशरथ चन्द नगरपालिका र पाटन नगरपालिकाले विहीबार सार्वजनिक विदा समेत दिएको थियो ।

बैतडीको पाटनमा रहेको भीमदत्त प्राविधिक शिक्षालय उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले प्राविधिक शिक्षालयले बैतडी र सुदूरपश्चिमको शिक्षामा गुणत्मक विकास गर्दै दक्ष प्राविधिक जनशक्ति गाउँमै तयार हुने विश्वास व्यक्त गर्नुभएको छ ।

दशक पहिले बैतडी आएको स्मरण गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बैतडी जिल्ला अमर सहिद दशरथ चन्दको जिल्ला र कला संस्कृतिको धनी क्षेत्र भएको बताउँनुहुँदै पछिल्लो समय बैतडीले राष्ट्रिय अन्तर्राष्टिय क्रिकेट क्षेत्रमा सफलता हासिल गरेको देख्दा आफूलाई अत्यन्त खुशी लागेको बताउनुभयो ।

बिहीबार मध्यान्ह बैतडीको प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिरको दर्शन गरेर दिउँसो २ः०० बजे बैतडीको पाटन आईपुग्नु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिका रुपमा आफ्नो बैतडी पहिलो भ्रमण भएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गर्नुहुँदै पाटन नगरपालिकाका मेयर केशवबहादुर चन्दले मायाको चिनो प्रदान गर्नुभयो । सो अवसरमा सुदूरपश्चिमको चर्चित छलिया नाच समेत प्रदर्शन गरिएको थियो ।गोरखापत्र दैनिकबाट ….

प्रतिकृया दिनुहोस्