RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१७ गते
८०० पटक

एजेन्सी । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण शुक्रबार साँझसम्म मृत्यु हुनेकाे संख्या ४२ पुगेकाे प्रहरीले जनाएको छ ।

हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौँ दङ्गा प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको भएपनि प्रभावकारी हुन सकेकाे छैन । विवादास्पद नागरिकता कानूनलाई लिएर तीन महिनादेखि देशैभर विरोध प्रदर्शन भइरहेका छन् ।

संशोधित नागरिकता कानून र राष्ट्रिय अभिलेख रजिष्ट्ररका नाममा आफूहरूलाई राज्यविहीन बनाउने भारत सरकारको कुत्सित मनशाय देखिएको मुस्लिम समुदाय र बौद्धिक समूहको दाबी छ । तर भारत सरकारले कुनै पनि मुस्लिमलाई राज्यविहीन नबनाउने बताइसकेको छ ।

मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानून राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष र विपक्षमा भारतीय जनमत बाँडिएको छ । नयाँ नागरिकता कानूनले खासगरी भारतीय मुस्लिम समुदायलाई चिढ्याएको छ ।

नयाँ कानूनअनुसार धार्मिक आस्थाका आधारमा बङ्गलादेश, अफगानिस्तान र पाकिस्तानमा पीडित भइरहेका हिन्दु, सिख, बौद्धमार्गी, जैन, पारसी र इसाई सम्प्रदायका व्यक्तिलाई भारतमा नागरिकता दिइने व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस्