RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१९ गते
८३३ पटक

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले फागुन १५ गते पार्टीको वाग्मती प्रदेशको प्रशिक्षण कार्यक्रममा भनेका थिए– ‘म केही दिनमै मिर्गाैला प्रत्यारोपण गर्दै छु। पाँच दिन अस्पताल बस्छु। छैटौं दिनदेखि घर फर्किएर फेरि काममा लाग्नेछु।’

उनले त्यसको तीन दिनमै प्रत्यारोपणको मिति अप्रत्याशित रूपमा तय गरेका छन्। ओलीको मिर्गौला प्रत्यारोपण दोस्रो पटक बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा हुने भएको छ। उनी सोमबार अस्पताल भर्ना हुँदै छन्। त्यसका लागि आइतबार बिहान ग्रान्डी अस्पतालमा उनको स्वास्थ्य जाँच गरिएको थियो। अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको बताए। ‘उहाँ स्वस्थ हुनुहुन्छ। स्वास्थ्य जाँचको रिपोर्ट राम्रो आएको छ’, उनले भने।

प्रधानमन्त्रीको मुटु, ठूलो आन्द्रा, रगतको जाँच गरिएको थियो। स्वास्थ्य जाँचको रिपोर्ट राम्रो आएपछि आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा चिकित्सकसँग छलफल भएको थियो। पहिलो पटक ओलीको मिर्गौला प्रत्यारोपण २०६४ साउनमा भारतको अपोलो अस्पतालमा गरिएको थियो। त्यस बेला बुहारी नाताकी अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन्। पहिलोभन्दा दोस्रो पटकको प्रत्यारोपण अलिक जटिल हुने चिकित्सक बताउँछन्।

ओलीलाई दोस्रो पटक मिर्गौला दिन आफन्त नाताकी एक महिला तयार भएकी छन्। चिकित्सकका अनुसार उनको स्वास्थ्य जाँच गरी तयारी अवस्थामा राखिएको छ। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा.दिव्यासिंह शाहले प्रत्यारोपणको संयोजन गरिरहेकी छन्। प्रधानमन्त्रीकी निजी चिकित्सकसमेत रहेकी डा. शाह स्वदेशी एवं विदेशी चिकित्सकसँग परामर्शमा छिन्।

ओलीको स्वास्थ्य रिपोर्ट आइतबार बालुवाटार पठाइएको वरिष्ठ मुटु रोग विशेषज्ञ डा.अरुण सायमीले बताए। ‘सबै रिपोर्ट आजै (आइतबार) पठाइएको छ। प्रत्यारोपण गर्न सकिने अवस्था छ’, उनले भने। उनका अनुसार प्रत्यारोपणमा विदेशी चिकित्सकसमेत संलग्न हुने सम्भावना छ। ‘विदेशी विज्ञ पनि ल्याउने सम्बन्धमा डा. दिव्यासिंह शाहले नै समन्वय गर्नुभएको छ’, उनले भने।अन्नपुर्ण पोष्ट दैनिकबाट

प्रतिकृया दिनुहोस्