RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१९ गते
६९८ पटक

डोल्पा : अत्यधिक चिसो भएपछि बन्द भएका डोल्पाका विद्यालयहरु दुई महिनापछि खुलेका छन्। गत पुस पहिलो सातादेखि बन्द भएका तल्लो डोल्पाका पाँचवटा स्थानीय तहका विद्यालयहरु चिसो कम हुन थालेपछि खुलेका हुन्।

तल्लो डोल्पामा रहेका त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिका तथा काइके, जगदुल्ला, मुड्केचुला गाउँपालिकामा रहेका ८८ वटा विद्यालय सञ्चालनमा आएका हुन्।

मंसिर दोस्रो सातादेखिनै हिमपात सुरु भई अत्यधिक चिसो बढ्ने हुँदा यस क्षेत्रका सोही बेला वार्षिक परीक्षा गरिन्छ। त्यस बेला बन्द रहेका विद्यालयहरु पुस र माघमा पठनपाठन बन्द हुने गरेको शिक्षा विकास तथा समन्वय इकाई डोल्पाले जानकारी दिएको छ।

फागुन १ देखि विद्यालय खुले पनि जिल्लाबाहिर घर रहेका शिक्षकहरु र हिउँदे बिदामा अभिभावकसँग सहर पुगेका विद्यार्थीहरु पहिलो साता मात्र विद्यालय पुग्ने गरेको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुरा माध्यमिक विद्यालयका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए।

उपल्लो डोल्पामा रहेका तीन स्थानीय तहमा रहेका सम्पूर्ण विद्यालयहरु अझै पनि खुलेका छैनन् । डोल्पो बुद्ध, छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकामा रहेका २४ वटा विद्यालयहरु गत कात्तिकदेखिनै बन्द भएका हुन्।

प्रत्येक वर्ष कात्तिक अन्तिममा बन्द भएका विद्यालयहरु छ महिनापछि वैशाखमा मात्र खुल्ने गर्छन्। यस समयमा अत्यधिक हिमपात हुने र चिसोले बस्न नसकिने भएकाले स्थानीयसहित घरमा ताल्चा मारेर चिसो छल्न बेंशी झर्ने गर्दछन्। डोल्पामा ११२ वटा विद्यालय रहेका छन्।
thahakhabar.com

प्रतिकृया दिनुहोस्